
काठमाडौं ।
नेपाल टेलिकमले स्याङ्जा वालिङका ग्राहकलाई फाइबर ल्यान्डलाइन टेलिफोन सेवा दिन सुरु गरेको छ । एफटीटीएच नामक फाइबर सेवा जिल्लाका तीन सहरमा सुरु गरिएको टेलिकमले जनाएको छ।
तामाको तारसहितको झन्डै एक हजार ल्यान्डलाइन फोन वितरण गरिएको टेलिकम वालिङका प्रमुख नारायण कपालीले जानकारी दिए।
फाइबरको एक तारबाट टेलिफोनसँगै तीव्र गतिको इन्टरनेट र टीभी सञ्चालन गर्न सकिने छ। नयाँ प्रविधियुक्त सेवाको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले शुभारम्भ गरे।
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय पोखराका निर्देशक इन्दल यादवले नगर प्रमुख कृष्ण खाणलाई एफटीटीएचको सीपीई हस्तान्तरण गरे। यादवले आगामी रणनीति, सेवा सुविधाका बारेमा नगर प्रमुख खाणलाई जानकारीसमेत गराएका थिए।
टेलिकमका अनुसार वालिङमा १५० लाइन फाइबर जडान भइसकेको र बाँकी अन्य टेलिफोनका लागि काम भइरहेको छ । नगरपालिकाको वडा नम्बर ८ का बीपी चोक, भीआईपी टोल, वालिङ मोड र नयाँ बजारमा यो सेवा सुरु भइसकेको छ । टेलिकमको तारका कारण दुर्घटना बढेको र बजार समे त अस्तव्यस्त भएको जनगुनासो पछि नेपाल टेलिकमले पुरानो प्रविधि हटाएर नयाँ प्रविधि भित्र्याउन लागेको जनाएको छ। तार कम लाग्ने र भरपर्दो सेवा भएकाले फाइबर टेलिफोन सेवा वितरण गर्न लागेको टेलिकमको दाबी छ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका वरिष्ठ इन्जिनियर रामचन्द्र पोखरेलले फाइबर टेलिफोन सेवाले सेवाग्राहीलाई सहज हुने बताए ।
जिल्लाको मुख्य व्यपारिक केन्द्र वालिङबाट शुभारम्भ भएको फाइबर टेलिफोन सेवा जिल्लाको गल्याङ, मिर्मी, पुतलीबजार, चापाकोट, भीरकोटलगायतका मुख्य बजार क्षेत्रमा सञ्चालन हुनेछ।
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार