लाइसेन्स परीक्षामा अधिकांश परीक्षार्थी अनुत्तीर्ण

  • Technology Khabar | ६ भाद्र २०७९, सोमबार
लाइसेन्स परीक्षामा अधिकांश परीक्षार्थी अनुत्तीर्ण

काठमाडौं ।

यातायात व्यवस्था विभागले लागू गरेको नयाँ प्रणालीको सवारी लाइसेन्स परीक्षामा अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएका छन् । सवारी लाइसेन्स सर्वसुलभ बनाउने उद्देश्यका साथ विभागले सवारीचालक अनुमतिपत्र सञ्चालन कार्यविधि निर्देशिका २०७७ लागू गरेको हो तर अपेक्षाविपरीत अधिकांश अनुत्तीर्ण हुन थालेपछि नयाँ प्रणालीमाथि प्रश्न उठेको छ ।

यो कार्यविधिअनुसार मधेश प्रदेशमा पहिलो पटक बर्दिबास यातायात सेवा कार्यालयले भदौ १ गतेदेखि परीक्षा लिन थालेको हो । पहिलो दिनको लिखितमा १२८ परीक्षार्थीमध्ये ६७ प्रतिशत अर्थात् ४३ जना अनुत्तीर्ण भए । दोस्रो दिन पनि १५० मध्ये ५२ जना अनुत्तीर्ण भएको कार्यालयले जनाएको छ।

यसअघि यहाँ लिखित परीक्षामा ९५ प्रतिशतसम्म पास भएको तथ्याङ्क छ। कार्यालय प्रमुख पोषण थापाकाअनुसार भर्खर लागू भएको नयाँ प्रणालीअनुसार उत्तर दिने अभ्यास नहुँदा लिखितमा नयाँ कार्यविधिले परिकल्पना गरेअनुरूपको प्रतिफल नदेखिएको हो।

लिखित परीक्षामा पहिले पाँच अङ्कभारका २० प्रश्न हुन्थे । १० ओटा ठीक भए पास हुने हुँदा ९० प्रतिशत बढी पास हुँदै आएका थिए । नयाँ प्रणालीअनुसार चार अङ्कभारका २५ प्रश्न राखिएको छ । लिखितमा पास गर्न अब १५ प्रश्न ठीक हुनुपर्ने भएकाले फेल प्रतिशत बढको हो । पहिले प्रश्नपत्रमै ‘टिकमार्क’ लगाउनुपर्दा लिखित परीक्षा सहज थियो ।

अब ‘ओसीआर’ (अप्टिकल क्यारेक्टर रिकग्निसन) प्रणालीअनुसार छुट्टै पानाको ठीक घेरामा थोप्लो भर्नुपर्दा अलमल र समय धेरै लाग्ने गरेको परीक्षामा सामेल परीक्षार्थीको भनाइ छ ।

लिखित परीक्षा ‘क्लिस्ट’ लागे पनि सवारी लाइसेन्सको नयाँ परीक्षा प्रणालीलाई मनोगत रूपमा नबुझिदिन कार्यालय प्रमुख थापाको आग्रह छ ।

आर्थिक वर्ष २०७८÷७९ मा बर्दिबास यातायातमा सवारीचालक अनुमतिका लागि १५ हजारले आवेदन दिएकोमा छ हजार ३४३ ले मात्र पास गर्न सकेका थिए । रेकर्डअनुसार सरदरमा ६० प्रतिशतभन्दा बढी ट्रायलमा फेल हुने हुँदा बढी पास होऊन् भनेर परीक्षा प्रणाली परिमार्जन गरिएको थापाले बताए ।

“पहिले आधा बढी फेल हुने ट्रायलमा अब धेरै पास हुन थालेका छन्,” उनले भने “भदौ ३ गते शनिबार २३४ जनाले ट्रायल दिएकामा १६९ जना अर्थात् ७२ प्रतिशत पास भएका छन् । अघिल्लो ट्रायल परीक्षामा सयमा सय ल्याए मात्र पास हुने व्यवस्था थियो । अब भने ७० ल्याए पुग्छ ।”

पहिले प्रयोगात्मक परीक्षाका सात प्रकारका प्यारामिटरमध्ये एउटामा पनि चुक्यो भने फेल हुने प्रणाली थियो। नयाँ कार्यविधिले यी प्यारामिटरलाई मेजर र माइनरमा वर्गीकरण गरेर सहज बनाएको छ। अब माइनर प्यारामिटरमा चुक्यो भने पनि बाहिरिनुपर्दैन ।

सवारी लाइसेन्सका परीक्षार्थीले थापाको भनाइप्रति विमति जनाएका छन् । विभागले नयाँ कार्यविधिमा ट्रायललाई केही सरल र लिखितलाई गाह्रो पारेकोले यो भनेजस्तो उपलब्धिमूलक नभएको उनीहरूले बताएका छन्। गोरखापत्रबाट

प्रकाशित: ६ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...