
काठमाडौं ।
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने तर धेरै खर्च लाग्ने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले जनाएको छ।
देवनागरी लिपिका लागि थप ७७ करोड रुपैयाँ खर्च लाग्ने निर्माण कम्पनी टाइगरको दाबी छ।
कम्पनीले यातायात व्यवस्था विभागलाई पत्र पठाएर खर्चको बारेमा जानकारी दिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूरै प्लेट देवनागरी लिपिमा लेख्न सकिने वा नसकिने बारेमा कम्पनीलाई पत्र पठाएको थियो।
सोही पत्रको जबाफमा कम्पनीले थप लगानी र समय लाग्ने जनाएको छ। पहिलो सम्झौता ४ अर्ब ६७ करोड रुपियाँ रहेकोमा थप ७७ करोड रुपैयाँ खर्च लाग्ने ठेकेदार कम्पनी दाइगरको भनाई छ।
“देवनागरी लिपिमा लेख्न सम्भव रहेको पत्र आएको छ तर त्यसका लागि समय र लगानी थप गर्नुपर्ने माग गरिएको छ,पत्र यातायात मन्त्रालयमा पठाएका छौँ ।” यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने।
विगतको सम्झौता र बाँडिएका नम्बर प्लेटलाई के गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण रहेको विभागले जनाएको छ।
देवनागरी लिपिमा लेख्दा नम्बर प्लेटको पुनः डिजाइन गर्नुपर्ने हुन्छ । लगानी बढ्दा सेवाग्राहीलाई पनि महँगो पर्ने भएको छ।
गत २०७४ भदौमा इम्बोस्ड प्लेट जडान सुरु भएदेखि भाषा र प्रदेशको नामका बारेमा विवाद भइरहेको छ।
प्लेटमा नेपाली भाषाको अङ्क र अक्षर प्रयोग नभएको विषय सर्वोच्च अदालतमा पुगेको थियो ।
अदालतले २०७४ फागुनमा सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि प्लेटको वितरण रोकिएको थियो ।
२०७६ मङ्सिर २७ गते हाल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको ५ न्यायाधीशको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको थियो।
खारेजपछि वितरण पुनः सुरु भएको थियो।
तर संसदीय समितिले पनि देवनागरी लपिमै लेख्ने व्यवस्था गर्न निर्देशन दिएको थियो।
स्रोत : सोमबारको गोरखापत्र
प्रकाशित: ६ भाद्र २०७९, सोमबार