जितेन्द्र ईभीले भारतमा १ हजार करोड भारु लगानी गर्ने, प्रति वर्ष २० लाख ईस्कुटर उत्पादन गर्ने

  • Technology Khabar | ४ भाद्र २०७९, शनिबार
जितेन्द्र ईभीले भारतमा १ हजार करोड भारु लगानी गर्ने, प्रति वर्ष २० लाख ईस्कुटर उत्पादन गर्ने

काठमाडौं ।

भारतमा पछिल्लो समय इलेक्ट्रिक सवारीको बिक्री बढिरहेको छ। भारतमा ईसवारी मध्येमा दुई पांग्रे इलेक्ट्रिकको माग धेरै रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

भारतमा १४ लाखभन्दा धेरै ईसवारी दर्ता भएको छ। जसमा दुई पंग्रे ईभीको हिस्सा ५ लाखभन्दा धेरै छ। दुई पांग्रे ईभीको बढ्दो लोकप्रियतामा आफ्नो उपस्थिति जनाउका लागि नयाँ कम्पनीहरु पनि बजारमा आइरहेका छन्।

यस्तोमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने कम्पनी जितेन्द्र ईभीले इलेक्ट्रिक स्कुटर उत्पादन बढाउने तयारी अघि बढाइरहेको छ। कम्पनीले सन् २०२७ सम्म आफ्नो उत्पादन क्षमता २० लाख यूनिटसम्म बढाउने योजना बनाएको छ। कम्पनीले नासिक स्थित उद्योगबाट वार्षिक २४ हजार यूनिट इलेक्ट्रिक स्कुटर निर्माण गर्दै आइरहेको छ।

जितेन्द्र ईभीका संस्थापक जितेन्द्र शाहका अनुसार कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटरको मोडलमा काम गरिरहेको छ। नयाँ स्कुटरलाई तीब्र गतिमा चार्ज हुने लिथियम टाइटेनियम अक्साई ब्याट्री दिइनेछ। कम्पनीले उक्त ब्याट्री बैंगलोर स्थित सेल निर्माता लोग९बाट खरिद गरिरहेको छ। नयाँ ईस्कुटर टेस्टिङ मोडलमा रहेको उनले जानकारी दिए।

उनका अनुसार कम्पनीले प्रत्येक महिना १ हजार इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ। कम्पनीले भर्खर बैंगलोरको स्टार्टअप एफएई बाइक्सबाट १२ हजार इलेक्ट्रिक स्कुटर डेलिभरी गर्ने अर्डर प्राप्त गरेको छ। यसका लागि कम्पनीले आफ्नो पूर्ण क्षमतामा काम गरिरहेको उनको दाबी छ।

हाल कम्पनीले इलेक्ट्रिक सवारीका लागि १०० करोड भारु लगानी गरेको छ। अगामी ५ वर्षमा २० लाख युनिटको सुविधा स्थापना गर्नका लागि १ हजार करोड भारु लगानी गर्ने योजना रहेको उनले सुनाए। साथै कम्पनीले नयाँ रिटेल स्टोर सञ्चालनमा ल्याएर बजारमा आफ्नो उपस्थिति बढाइरहेको छ।

प्रकाशित: ४ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...