Technology Khabar ६ चैत्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ६ चैत । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करिब १४ प्रतिशत शेयर लाभांश (बोनस) दिने भएको छ ।
मेगा बैंकको बिहीबार राजधानीमा सम्पन्न छैटौं साधारणसभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर पारित गरेको हो । साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश व्यवस्था गर्ने निर्णय गरेको हो ।
‘आर्थिक बर्ष २०७२/७३ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत अर्थात ५३ करोड १६ लाख बोनस शेयर तथा सोको लागि आवश्यक करको निमित्त हालको चुक्ता पुँजीको ०.७० प्रतिशत अर्थात २ करोड ८० लाख नगद लाभांश साभारण सभाले पारित गरेको छ ।’, साधारणसभापछि बैंकका अध्यक्ष भोजबहादुर शाहले भने ।
यसैगरी, साधारणसभाले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
बैंकले क्षेत्रीय कार्यालयको अवधारणालाई आत्मसात गर्दै लुम्बिनी क्षेत्र अन्तर्गतका शाखा कार्यालयहरु मतहतमा रहने गरी बुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले बताए ।
सिइओ शाहका अनुसार, चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ७ अर्ब ७७ करोडले वृद्धि भई ३८ अर्ब ५२ करोड रुपैंया पुगेको छ भने खुद कर्जा ६ अर्ब ६५ करोडले वृद्धि भई ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । दोस्रो त्रैमासिकमै बैंकले ३७ करोड ९ लाख खूद मुनाफा आर्जन गरेको छ ।
मेगा बैंकका अहिले ३९ वटा शाखा कार्यालयहरु, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेको बैंकले जनाएको छ ।
प्रकाशित: ६ चैत्र २०७३, आईतवार