
काठमाडौं ।
टीकापुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा (एसईईपछि तीन वर्ष) तहमा कृषि इन्जिनियरिङको पढाइ सुरु भएको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले कृषि कार्यका लागि अति आवश्यक कृषि यन्त्र, सिचाईँ, माटो र कृषि बालीको उत्पादनपछिको व्यवस्थापनका बारेमा एकीकृत पाठ्यक्रम तयार गरी यसै शैक्षिक सत्रदेखि टीकापुरबाट पढाइ सुरु गर्न थालेको हो।
एसईईमा विज्ञान र गणित विषयमा कम्तीमा सी ग्रेड र अङ्ग्रेजीमा कम्तीमा डी प्लस ल्याएका ४८ जना विद्यार्थीहरुले कृषि इन्जिनियरिङ पढ्न पाउनेछन्।
नेपाल सरकारले कृषि उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको र कैलालीमा रानी जमरा कुलरिया, बर्दियामा बबई, बाँकेमा सिक्टा र कञ्चनपुरमा महाकाली सिँचाइ आयोजना बनिरहेकाले यसलाई सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङको पढाइ आवश्यक भएको शिक्षालय प्रमुख इन्जिनियर पारस खड्का बताउँछन् ।
‘यहाँका किसानका हातमा अनुदानमा करोडौंका कृषि यन्त्र पुगेका छन तिनको मर्मत सम्भार सञ्चालन, सिँचाइ प्रणाली निरन्तर गर्न र यहाँको माटोलाई उर्वर बनाउन यहाँको जनशक्ति काम लाग्नेछ,’ शिक्षालय प्रमुख, ईन्जिनियर पारस खडकाले भने, ‘कृषि इन्जिनियरिङको पढाइ तीन वर्ष पूरा हुँदासम्म शिक्षालयमा प्रशिक्षक पाँच जना कृषि इन्जिनियर, दुई सहायक हुनेछन र शिक्षालयभित्रै वर्कसप चल्नेछ विद्यार्थीले पनि सिक्दै, गर्दै कमाउन सक्नेछन् ।’
शिक्षालयको कृषि विभागका विद्यार्थीलाई सिक्न आवश्यक पर्ने करिब दुई करोडका कृषि यन्त्रहरु दातृ संस्थाको सहयोगमा उपलब्ध भैसकेका छन् । यसमा थे्रसर, हार्भेष्टर, लेबलर, राइस प्लान्टर जस्ता महँगा उपकरणहरु छन् ।
सीटीईभीटीको पाठ्यक्रम विकास महाशाखाका निर्देशक इन्जिनियर अनोज भट्टराई बजार अध्ययन गर्दा नेपाली बजारमा कृषि इन्जिनियरको असाध्यै माग भएकाले तुरुन्तै रोजगार पाउन सक्ने जनशक्ति उत्पादन गर्न कृषि इन्जिनियरिङ सुरु गरिएको बताउँछन्।
सीटीइभीटीको पाठ्यक्रम बोर्डमा कृषि मन्त्रालय, भौतिक योजना मन्त्रालयको प्रतिनिधित्व भएकाले बोर्डकै सुझाव अनुसार पाठ्यक्रम बनेको छ।
प्रकाशित: २८ श्रावण २०७९, शनिबार