
काठमाडौं ।
हुम्ला जिल्लाको विद्यालय शिक्षकमा कम्प्युटर सम्बन्धी ज्ञान नभएपछि तीन वर्षदेखि विद्यालयमा कम्प्युटर त्यसै थन्किएका छन् ।
सिमकोट गाउँपालिका–८, साँतायाङ्गु गाउँका बलभद्र आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबला बुढाले तीन वर्षअघि खरिद गरेर जडान गरिएका कम्प्युटर सञ्चालनमा ल्याउन नसकिएको बताए । उनले कम्प्युटर बारे आफूलाई ज्ञान नभएको र अन्य शिक्षकले कम्प्युटर सिक्न चासो नदिएका कारण कम्प्युटरमा गरिएको लगानी खेर गएको बताए।
सो विद्यालयमा बाल विकासका सहयोगी कार्यकर्ता र निजी स्रोतका शिक्षकसहित चार जना शिक्षक कार्यरत छन्। शिक्षकलाई कम्प्युटर सिक्न धेरै सुझाए पनि नमानेका कारण कम्प्युटर प्रयोगविहीन भएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर रोकायाले कम्प्युटर सञ्चालनमा ल्याउन नसक्नु दुःखको कुरा भएको बताए। उनले शिक्षकलाई तालिम लिन पठाएर भए पनि विद्यालयमा जडान गरिएका कम्प्युटर सञ्चालनमा ल्याइने प्रतिबद्धतासमेत व्यक्त गरे। गोरखापत्रबाट
प्रकाशित: २८ श्रावण २०७९, शनिबार