
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्जले आफ्नो वेबसाइटबाट अनधिकृतरुपमा डाटा तान्न खोजिएको भन्दै त्यस्तो कार्य नगर्न चेतावनी दिएको छ।
नेप्सेले बिहिबार सार्वजनिक सूचना जारी गर्दै आफ्नो वेबसाइटहरुबाट ठूलो मात्रामा डाटा तान्ने प्रयास गर्दा वेबसाइटमा विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रूपमा अत्यधिक बढेको जनाएको छ।
यसरी अनधिकृतरुपमा डाटा एक्सट्रयाक्ट गरेमा कानूनी कारबाही गर्ने चेतावनी समेत नेप्सेले दिएको छ।
‘आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानूनी कारवाहीको प्रक्रियामा जान बाध्य हुने’ नेप्सेले आफ्नो आधिकारिक सूचनामा भनेको छ।
हाल नेप्सेले आधिकारिक रूपमा एपिआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको जनाएको छ।
नेप्सेबाट यसअघि पनि अनधिकृतरुपमा डाटा तान्ने प्रयास भईरहेको थियो भने यसको लागि कानून समेत ल्याएको छ।
तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ अनुसार वित्तीय विश्लेषक गर्ने इन्भेस्टमेन्ट कम्पनी, व्यापारिक प्रयोजनका लागि रिप्याकेजिङ गर्न इच्छुक तथ्यांक वितरक, सञ्चारमाध्यम, गैर व्यापारिक शैक्षिक र अनुसन्धानात्मक विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरू छुट्टाएर आवश्यकता अनुसारको आधिकारिक तथ्यांक उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ। तर सो कार्यविधि हाल लागू भएको छैन्।
प्रकाशित: २६ श्रावण २०७९, बिहीबार