
काठमाडौं ।
जेष्ठ नागरिकको हेरचाहका लागि नेदरल्याण्डले संसारभरका देशमध्ये सबैभन्दा धेरै खर्च गर्ने गरेको छ। सन् २०१९ मा नेदरल्याण्डले आफ्नो जीडीपीको ४ प्रतिशत र डेनमार्कले ३.५ प्रतिशत जेष्ठ नागरिकको हेरचाहमा खर्च गरेको थियो। यो खर्च सन् २०५० मा दुई गुणा हुन सक्ने बताईएको छ।
खर्च कटौतीका लागि नेदरल्याण्ड सरकारले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मोडल अपनाउने भएको छ। नेदरल्याण्डका खेल मन्त्री कोनी हेल्डरका अनुसार अब जेष्ठ नागरिकहरु आफ्नो हेरचाहका लागि आफैँमा निर्भर हुनु पर्नेछ।
स्मार्ट फ्लोर ग्याजेड
यसका लागि खेल मन्त्रीले एयरब्याग जडान गरिएको बेल्ट र ‘स्मार्ट फ्लोर’ लगायत ग्याजेट प्रयोग गर्न सुझाव दिएका छन्। यसबाट मानिस जमिनमा लड्न लागेको थाहा पाउन सकिन्छ। यस्तोमा हिप फ्याक्चर हुनेको सम्भावना ७० प्रतिशतसम्म कम गर्न सकिन्छ।
यसबाहेक डेनमार्कको अस्पतालबाट डिस्चार्ज भएका जेष्ठ नागरिकलाई दैनिक काम शुरु गर्न तालिम दिने लगायतका विषयहरु समावेश गरिएका छन्। यसमा नर्ससँग भिडियो कलिङको सुविधा छ। इमरजेन्सी अवस्थामा जेष्ठ नागरिकले आफैँ मेडिकल परामर्श लिन सक्नेछन्। जसको मद्दतबाट रेखदेख गर्ने कर्मचारीको संख्या ४० प्रतिशत कम गर्न सकिन्छ।
जेष्ठ नागरिकका साथै केयरटकर्सको उमेर पनि बढ्दै
नेदरल्याण्डमा सन् २०४० मा ७० वर्षभन्दा माथि आयु भएका मानिसको संखया दुई गुणा अर्थात २५ लाख नाघ्ने छ। हावर्ड मेडिकल स्कुलका डेभिड ग्रेबोव्स्की भन्छन्, ‘जेष्ठ नागरिकको संख्या मात्र बढ्ने छैन, उनीहरुको ध्यान राख्ने मानिसहरु पनि बूढो हुँदैछन्।’
प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार