
काठमाडौं ।
बागलुङका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न थालिएको छ। केही महिनाभित्रै जिल्लाका सबै वडामा पुगेर राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिसक्ने लक्ष्यका साथ साउन १६ गतेदेखि बागलुङ नगरपालिकाका १४ वटै वडामा विवरण सङ्कलनको कार्य सुरु भएको छ।
बागलुङ नगरपालिकाका १४ वटा वडामा दुई/दुई जनाका दरले २८ जना कर्मचारी विवरण सङ्कलनकका लागि उपकरणसहित खटाइएको छ । उनीहरुले एक वडामा सातदेखि १५ दिनसम्म विवरण सङ्कलन गर्नेछन् ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौड्यालकाअनुसार बागलुङ नगरपालिकाको सम्पूर्ण नागरिकको विवरण सङ्कलनपछि अन्य पालिकामा काम थाल्ने राष्ट्रिय परिचयपत्रको योजना रहेकोछ। विवरण सङ्कलनमा समस्या नहोस् र कोही नछुटुन् भन्ने अभिप्रायले वडा कार्यालयमै प्राविधिक टोली खटाइएको छ भने एक दिनमा ८० जनाभन्दा बढीको परिचयपत्रका लागि आवश्यक विवरण सङ्कलन गरिन्छ।
धेरै प्रकारका व्यक्तिगत विवरण तथा फोटो, १० औंलाको चिह्न र आँखाको नानीको चिह्न लगायतको विवरण दर्ता गर्दा एक व्यक्तिको विवरण सङ्कलन गर्नका लागि मात्रै ३० मिनेट समय लाग्ने गर्दछ। दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटाभन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिरसहितका सूचना सङ्कलन गर्ने गरिन्छ।
विसं २०६७ को साउनमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरी काम सुरु गरिएपनि पूर्वाधार निर्माणलगायतमा भएका अवरोधका माझ अघिल्लो वर्षबाट परिचयपत्र बाँड्न थालिएको थियो।
नेपालको संविधानले राष्ट्रिय परिचयपत्रलाई एकीकृत प्रणालीमा व्यवस्थापन गरी त्यसलाई राज्यबाट उपलब्ध हुने सेवासुविधा र राष्ट्रिय योजनासँग जोड्ने नीति लिएको छ। राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, करसम्बन्धी अभिलेख, बैंकिङ कारोबार, समाजिक सुरक्षा परिचयपत्रलगायतमा प्रयोग गर्न सक्छन्।
सुरक्षा चिप्ससहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिनेबाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ।
प्रकाशित: २१ श्रावण २०७९, शनिबार