कोहलपुरमा विद्युतीय गाडी र विद्युतीय सामग्री प्रबर्द्धनका लागि छुटैछुट

  • Technology Khabar | २१ श्रावण २०७९, शनिबार
कोहलपुरमा विद्युतीय गाडी र विद्युतीय सामग्री प्रबर्द्धनका लागि छुटैछुट

काठमाडौं ।

– किरण अधिकारी

लुम्बिनी प्रदेशको बाँके जिल्लाको कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले विद्युतीय गाडी तथा सामग्रीमा छुटैछुट पाउने भएका छन्।

विद्युतीय गाडी र सामाग्री प्रबर्द्धन गर्न कोहलपुर नगरपालिकाले ल्याएको नयाँ योजनानुसार नगरपालिकाले विद्युतीय गाडी, स्कुटर तथा मोटरसाइकल खरिद गर्नेले १५ प्रतिशत (५० हजार रुपैयाँ) सम्म नगरपालिकाले रकम दिने प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए।

उनका अनुसार कोहलपुर नगरपालिकाले लिएको विद्युतीय गाडी प्रवर्द्धन गर्ने नीति अनुसार पेट्रोलियम पदार्थको खपत कम गर्नुका साथै विद्युतीय चुलोलाई प्रवर्द्धन समेत गरिएको छ। नगरपालिकाले विद्युतीय सवारीसाधन विद्युतीय चुलो खरिद गर्नेलाई खरिदको बिलसहित नगरपालिकामा पेश गरे नगद अनुदान दिइने व्यवस्था छ।

जोगिएको रकमले विद्युतीय गाडी प्रवर्द्धन गर्ने मोडल कोहलपुर नगरपालिकाले बनाएको छ। विद्युतीय गाडी प्रवर्द्धनका लागि कर्मचारी, जनप्रतिनिधिसँगै सर्वसाधारसम्म पुर्याउने र छोटा तथा लामा दूरीका लागि साझा यातायात र प्रदेश सरकारसँग सहकार्यमा कोहलपुर नगरपालिका लागेको छ।

यसैबीच, कोहलपुर नगरपालिकाले पेट्रोलियम पदार्थ खपत कम गर्न मासिक १५ लिटरको तेलको कुपन हटाई १० लिटर बराबरको रकम कर्मचारीको पारिश्रमिकमा जम्मा गर्ने नियम ल्याएको छ। कुपनै छाप्न छाड्दा विभिन्न निकायबाट आउने इन्धनको सहयोग माग स्वतः हटेको छ।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...