
काठमाडौं ।
अन्तरिक्षमा तैनाथ गरिएको सबैभन्दा ठूलो टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोपले आफ्नो तस्विरहरुद्वारा विश्वलाई चकित पारेको छ। टेलिस्कोपहरू प्रयोग गर्ने खगोलविद्हरूले उनीहरूले अहिलेसम्म देखेको सबैभन्दा टाढाको आकाशगंगा देखेको ठान्छन्।
करिब ३५ अर्ब प्रकाश वर्ष टाढा रहेको यो आकाशगंगा हाल रातो दाग जस्तो देखिन्छ। यद्यपि यसको पुष्टि हुन बाँकी छ। अनुसन्धान अझै प्रारम्भिक अवस्थामा छ।
ग्यालेक्सीको उपस्थिति यसको प्रकाशको स्पेक्ट्रा अध्ययन गरेर पुष्टि गरिनेछ। विशेष कुरा यो हो कि यसले जेम्स वेब टेलिस्कोपको एक हप्ता पुरानो रेकर्ड तोडेको छ, जब अर्को टोलीले जीएलएएसएस-जेड१३ (GLASS-z13) नामक ग्यालेक्सी देखेको थियो।
लाइभ साइन्सको रिपोर्ट अनुसार, शोधकर्ताहरूले जुलाई २६ मा प्रिप्रिन्ट डाटाबेस एआरएक्सआईभी (arXiv) मा पोस्ट गरिएको पेपरमा आफ्ना निष्कर्षहरू प्रस्तुत गरे।
नयाँ पत्ता लगाइएको आकाशगंगामा १६.७ को रेकर्ड-ब्रेकिङ रेडशिफ्ट रहेको तिनीहरूले फेला पारेका छन् । यसको अर्थ यसको प्रकाश लगभग १८ गुणा बढी रातो भएको छ। यी खोजहरू अझै समीक्षा गरिएको छैन।
स्मरण रहोस् गत महिना जुलाई १२ मा यस टेलिस्कोपबाट लिइएको पहिलो तस्बिर संसारभर सार्वजनिक भएको थियो । यसमा टाढाको ब्रह्माण्डलाई स्पष्ट तरिकाले देखाइएको थियो। एसएमएसीएस ०७२३ नामक सो ग्यालेक्सी क्लस्टरलाई जेम्स वेब टेलिस्कोपको पहिलो डीप फिल्डको रूपमा चिनिन्थ्यो।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो टेलिस्कोप गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरेको थियो । जेम्स वेबको निर्माणमा १० बिलियन डलर खर्च भएको थियो।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार