बिग्रिए नाकामा राखिएका सीसी क्यामरा

  • Technology Khabar | १७ श्रावण २०७९, मंगलवार
बिग्रिए नाकामा राखिएका सीसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

पूर्वी नवलपरासीका मुख्य नाकामा जडान गरिएका ५० प्रतिशत सीसीटीभी क्यामरा नचल्ने अवस्थामा छन्। सीसीटीभी नचल्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ।

नवलपुरका विभिन्न १० स्थानमा १०४ ओटा सीसीटीभी क्यामरा जडान गरिएका छन् ।

तीमध्ये ४९ वटा सीसीटिभी क्यामरा नचल्ले अवस्था रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए। लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न नवलपुरका मुख्य नाकाहरूमा अत्याधुनिक प्रणालीसहित सीसीटीभी जडान गरिएको थियो तर हावाहुरी, पानी र चट्याङका कारण बिग्रिएर बसेको जानकारी उनले दिए।

भारतीय नाका नजिक रहेका कारण लागूऔषध ओसारपसार तथा कारोबार समस्या बढ्दै गएको छ।

सीसीटीभी बन्द रहँदा अपराध गरेर र दुर्घटना गराएर सवारी भाग्ने गरेका छन्। यस्ता गतिविधिको निगरानीका लागि आर्थिक वर्ष २०७८/७९ मा मात्र गैँडाकोटमा १५, देवचुलीमा दुई र मध्यबिन्दुमा सात गरी २२ ओटा सीसीटीभी जडान गरिएको छ। प्रदेश प्रहरी कार्यालय पोखराले आफ्नो प्रदेशको प्रवेश नाकाहरूमा सुरक्षा व्यवस्था कडा बनाउँदै सडकमा हुने घटना तथा दुर्घटना न्यूनीकरण गर्न अत्याधुनिक सीसीटीभी जडानमा सहयोग गरेको हो ।

अहिले जडान गरिएको ठाउँबाट डेढदेखि दुई सय मिटरसम्म पनि सफा (क्लिएर अब्जेक्ट) दिने गरेको प्रहरी प्रमुख महर्जनले बताए। दुर्घटना गराएर भाग्ने सवारीसाधन तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई पहिचान गरी कारबाही गर्न पनि सीसीटीभीले ठूलो मद्दत मिल्ने गरेको भनाइ प्रहरीको छ। गोरखापत्रबाट

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार