सूचना प्रविधिले ओझेलमा हुलाक सेवा

  • Technology Khabar | १४ श्रावण २०७९, शनिबार
सूचना प्रविधिले ओझेलमा हुलाक सेवा

काठमाडौं ।

सिन्धुली जिल्लामा सूचना प्रविधिको विकाससँगै आधुनिक सञ्चार सुविधाको बढ्दो प्रयोगले हुलाक कार्यालय ओझेलमा पर्दै गएको छ।

हुलाकमार्फत चिठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने हुनाले हुलाक कार्यालय ओझेलमा पर्दै गएको हो।

पछिल्लो समयमा आफन्त वा साथीलाई सन्देश पठाउन सर्वसाधारणको रोजाइमा मोबाइल, टेलिफोन, इन्टरनेट, सामाजिक सञ्जाललगायत सूचना प्रविधिको उपयोग बढ्दै गएको कमलामाई नगरपालिका–६ निवासी पुरुषोत्तम ट्याङ्ग्रे बताउँछन्। उनले भने, “हुलाकबाट साधारण चिठी पठायो भने त कहिले पुग्ने हो, ठेगान हुँदैन । टेलिफोन र सामाजिक सञ्जाल प्रयोग गर्दा क्षणभर मै कुराकानी गर्न पाइन्छ । हुलाक कार्यालयले पनि समय र परिस्थितिअनुसार आफूलाई फेर्नु जरुरी छ ।”

मोबाइल, टेलिफोन, इन्टरनेटलगायत सञ्चार सुविधा सर्वसाधारणको पहुँच बाहिर हुँदा चिठीपत्र पठाउन भरपर्दो माध्यम नै हुलाक कार्यालय बनेको उनको बुझाइ छ ।

दुधौली नगर पालिका–१ निवासी नरनाथ पहाडी चिठीपत्र पठाउन हुलाक कार्यालयमा नगएको १० वर्षभन्दा बढी भइसकेको छ । उनले भने, “ओछ्यानमा सुतेर भिडियो कलमार्फत अनुहार हेरेर गफ गर्ने जमाना आइसक्यो । चिठीपत्र पुग्न महिनौँ लाग्ने हुलाकमा को गइरहन्छ ?”

कार्यालय प्रमुख कुमार थापा अहिले पनि कार्यालयबाट आन्तरिक तथा बाह्य चिठीपत्र, डाँक वस्तु सम्बन्धित स्थलमा पठाउने, हुलाक टिकट बिक्री गर्ने, हुलाक बैङ्क सेवा, धनादेश सेवा उपलब्ध गराउने, सूचनाको हक कार्यान्वयनसम्बन्धी कार्यको अनुगमन गर्ने लगायत रेडियो, टेलिभिजनको इजाजतपत्र, लाइसेन्स नवीकरण गर्ने कार्य भइरहेको बताउँछन्। बढी मात्रामा सरकारी चिठीपत्र र बैङ्क तथा वित्तीय क्षेत्रको चिठी बढी मात्रामा आउने गरको उनले सुनाए।

जिल्ला हुलाक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा जिल्लाभित्र १० हजार २३२ चिठीपत्र आएको र सिन्धुली जिल्लाबाट बाहिर १० हजार २२३ वटा चिठीपत्र पठाइएको छ । गोरखापत्रबाट

प्रकाशित: १४ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार