
काठमाडौं ।
गत आर्थिक वर्ष २०७८/७९ मा बीटीएस (बेस स्टेशन) को आयात घटेको देखिएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष बीटीएस आयात २८ करोड ९६ लाख ६१ हजार रुपैयाँले घटेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
गत आवमा १ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको बीटीएस आयात भएको छ। गत आवमा १ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको १९८ ओटा बीटीएस आयात भएको हो।
अघिल्लो आव २०७७/७८ मा ३० करोड ८ लाख ९ हजार रुपैयाँ बराबर १५ लाख ३० हजार ७३ ओटा बीटीएस आयात भएको थियो।
नेपालले अस्ट्रेलिया, चीन, भारत, मलेसिया र स्विडेनबाट बीटीएस आयात गर्ने गरेको छ।
सबैभन्दा धेरै बीटीएस चीनबाट आयात हुने गरेको छ। गत आवमा चीनमा ७५ लाख २९ हजार रुपैयाँ बराबरको १६५ ओटा बीटीएस आयात भएको छ।
भारतबाट ४ लाख २२ हजार रुपैयाँ बराबरको १७ ओटा बीटीएस नेपाल भित्रिएको विभागको तथ्यांकमा देखिनछ।
स्वीडेबाट ८, अस्ट्रेलियबाट ७ र मलेसियाबाट १ ओटा बीटीएस आयात भएका छन्। यी तीन मुलुकबाट ३१ लाख ९७ हजार रुपैयाँ बराबरको बीटीएस आयात भएको हो।
के हो बीटीएस टावर?
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन भद्दत गर्दछन्।
बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।
किन आउँछन् बीटीएस उपकरण?
दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदन्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।
यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।
यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।
नेपालमा दूरसञ्चारका क्षेत्रमा ह्वावे, जेडटीईजस्ता चिनियाँ कम्पनीका पूर्वाधारहरु धेरै प्रयोग हुने भएकाले पनि चीनबाट यस्ता उपकरण बढीभन्दा बढी आयात भएको आकलन गर्न सकिन्छ।
त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिको परीक्षणका लागि पनि मार्ग प्रशस्त गरेको बेला बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।
प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार