
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय डडेल्धुराले सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । डडेल्धुरासहित सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लाका सेवाग्राहीलाई सेवा दिन छ वर्षअघि डडेल्धुरामा स्थापना भएको यातायात सेवा कार्यालयले यस वर्षदेखि सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी थालेको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि अनलाइन आवेदन खुला गरिएको छ। साउन १७ र १८ गते आवेदकलाई कार्यालयमा उपस्थित हुन मिति तोकिएको यातायात व्यवस्था कार्यालय डडेल्धुरा प्रमुख मेखराज उपाध्यायले जानकारी दिए ।
सेवा कार्यालयबाट स्तरोन्नति भई हाल यो यातायात व्यवस्था कार्यालय भइसकेको छ।
कार्यालयमा उपस्थित भएपछि राजस्व बुझाएका आवेदकका लागि लिखित परीक्षा गरिने बताईएको। भदौ पहिलो साताभित्रै सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल उद्घाटन गर्ने तयारी छ । प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरासँग आफ्नै ट्रायल सेन्टर नभएको जनाइएको छ ।
कार्यालयले अमरगढी नगरपालिका–६ डकले भन्ने स्थानमा रहेको उग्रतारा ड्राइभिङ सेन्टरको ट्रायल सेन्टर भाडामा लिएको जनाइएको छ । यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराबाट अहिले मोटरसाइलक, स्कुटर, जिप र कारको लाइसेन्स मात्रै जारी हुनेछ।
प्रकाशित: १६ श्रावण २०७९, सोमबार