
काठमाडौं ।
वैज्ञानिकहरूले हाम्रो ग्यालेक्सी नजिकै एउटा फरक किसिमको ब्ल्याक होल देखेका छन्, जसलाई उनीहरूले निष्क्रिय ब्ल्याक होलको रूपमा वर्गीकृत गरेका छन्।
यो ब्ल्याक होल मर्दै गरेको तारामा विष्फोट नभई जन्मिएको वैज्ञानिकहरुको अनुमान छ। ब्ल्याक होलहरूमा सामान्यतया समान प्रवृत्ति हुन्छ, तर यो बाँकी ब्ल्याक होल भन्दा फरक छ।
वास्तवमा यो एक ‘एक्स-रे क्वाइट ‘ ब्ल्याक होल भएको बताईएको छ, जसको अर्थ यसले एक्स-रे विकिरण उत्सर्जन गर्दैन। सामान्यतया, ब्ल्याक होल एक विशाल तारामा विस्फोटबाट जन्मिन्छ, जसलाई सुपरनोभा भनिन्छ, तर यो ब्ल्याक होल अन्य कारणहरुले बनेको बताईन्छ।
स्मरणरहोस् ब्ल्याक होलहरू सघन वस्तुहरूलाई भनिन्छ जसको गुरुत्वाकर्षण अत्यन्त धेरै हुन्छ। यसले कुनै पनि कुरालाई आफूतिर तान्न सक्छ र ती भित्र पसेपछि प्रकाश पनि ‘हराउँछ’।
रोयटर्सको रिपोर्टका अनुसार यो ब्ल्याक होल म्यागेलेनिक क्लाउड ग्यालेक्सीको टायरान्टुला नेबुला क्षेत्रमा फेला परेको हो। यसको पिण्ड हाम्रो सूर्यको भन्दा कम्तीमा नौ गुणा बढी छ। यो पृथ्वीबाट लगभग १ लाख ६० हजार प्रकाश वर्षको दूरीमा स्थित छ। एक प्रकाश वर्षमा ९.५ ट्रिलियन किलोमिटर हुन्छ।
उक्त निष्क्रिय ब्ल्याक होल सामान्यतया शान्त रहेको छ। यस्ता ब्ल्याक होलहरुलाई पत्ता लगाउन गाह्रो छ, किनभने तिनीहरूले आफ्नो वरपरका चीजहरूसँग धेरै कम अन्तरक्रिया गर्छन्।
नेचर एस्ट्रोनोमीमा प्रकाशित अध्ययनका प्रमुख लेखक र एम्स्टर्डम विश्वविद्यालयका खगोल विज्ञानका अनुसन्धानकर्ता तोमर शेनारले यो ब्ल्याक होल फेला पार्नु भुसको पहाडमा सियो खोज्नु जस्तै भएको बताए।
हार्वर्ड एण्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका खगोलविद तथा अध्ययनका सह-लेखक कारिम एल-बाद्राईले दशकौंमा खगोलविदहरूले पत्ता लगाएको यो पहिलो प्रकारको ब्ल्याक होल भएको बताए। यो बिन्दुमा पुग्न, शोधकर्ताहरूले चिलीमा धेरै ठूलो टेलिस्कोपबाट ६ वर्षसम्मका अवलोकनहरूको प्रयोग गरेका थिए।
एउटा धेरै उज्यालो र तातो निलो तारा जसको पिण्ड सूर्य भन्दा लगभग २५ गुणा बढी छ र यसले उक्त ब्ल्याक होललाई परिक्रमा गर्दछ। यो तथाकथित बाइनरी प्रणालीलाई भीएफटीएस २४३ नाम दिइएको छ। अन्वेषकहरूले ब्ल्याक होलको साथी तारा अन्ततः ब्ल्याक होल हुनेछ र दुई एक आपसमा मर्ज हुन सक्ने विश्वास गर्छन् ।
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार