
काठमाडौं ।
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन गरेपछि विद्यालयको गुणस्तरमा सुधार आएको हो ।
सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विगतका वर्षदेखि नै काम गर्दै आएको छ । सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने र अङ्ग्रेजी माध्यमको पठनपाठनलाई विशेष ध्यान दिएपछि सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या पनि बढ्न थालेको छ ।
चालू आर्थिक वर्षमा नगरको बजेटको २५ प्रतिशत अर्थात् ३५ करोड रकम विनियोजन गरेको नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउनका लागि प्राविधिक सामग्री हस्तान्तरण गर्न थालेको छ । धुलोरहित र प्रविधिमा विद्यालयलाई जोड्नका लागि नगरले सामुदायिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर ई–प्यानल बोर्डलगायतका सामग्री हस्तान्तरण गरेको छ ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक विद्यालयमा एक-एक थान कम्प्युटर र एक-एक थान प्रिन्टर, चारवटा विद्यालयमा प्रयोगशाला ल्याब सामग्री, दुईवटा विद्यालयमा गणित प्रयोगशाला सामग्री हस्तान्तरण गरेको छ । नगरले कक्षा १–५ मा ‘हाम्रो सूर्योदय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भए पाँच हजार विद्यार्थीलाई उक्त पुस्तक वितरण गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए।
नगरले ९० लाख रुपियाँ बराबरका सामग्री वितरण गरिएको भट्टराईले जानकारी दिए । उनका अनुसार नगरमा ६६ वटा सामुदायिक विद्यालय छन् ।
सूर्योदय नगर क्षेत्रका सामुदायिक विद्यालयमा यसअघिदेखि नै कम्प्युटर कक्षा सञ्चालनका लागि कम्प्युटर ल्याब निर्माण, इन्टरनेट जडान, विद्युतीकरण, ई–प्यानल बोर्ड जडान गरिँदै आएको छ । नगरले नयाँ अभियानका रूपमा ‘गणितसँग खेलौँ गणितीय धारणा बनाऔँ’ अभियान सञ्चालन गरी गणित अभ्यास पुस्तिका वितरण गर्दै आएको छ । नगरले बर्सेनि गणित र विज्ञान प्रदर्शनीजस्ता कार्यक्रमसमेत गर्दै आएको छ ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईका अनुसार नगरले सामुदायिक विद्यालयको गुणस्तर सुधार भए नभएको मापन गर्नका लागि यस वर्षबाट तेस्रो पक्षीय विज्ञको टोलीबाट विद्यालयमा पठाउने तयारी गरेको छ । “आईसीटीको प्रयोग बालबालिकालाई प्रविधिमैत्री बनाउनुपर्छ । प्राविधिक शिक्षामा जोड दिएर गुणस्तरमा सुधार ल्याउनु पर्छ,” उनले भने।
उनले नगरले पेपरलेस (कागजरहित) अभियानसमेत थालेकाले आगामी दिनमा नगरका कुनै पनि सिफारिस हस्तलिखित नचल्ने बताउँदै अनलाइनबाट मात्र सेवा सञ्चालन हुने जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: २ श्रावण २०७९, सोमबार