मिडरेञ्ज फोन माथिको प्रतिबन्धले कालो बजारी मौलाउने

  • Technology Khabar | १ श्रावण २०७९, आईतवार
मिडरेञ्ज फोन माथिको प्रतिबन्धले कालो बजारी मौलाउने
सांकेतिक तस्बिर

काठमाडौं ।

मोबाइल फोन माथिको प्रतिबन्धले कालो बजार (ग्रे मार्केट) मौलाउने व्यवसायीहरुले बताएका छन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले ३०० अमेरिकी डलर अर्थात करिब ३८ हजार ४०० रुपैयाँ बराबरका फोनहरुको आयातमा प्रतिबन्ध लगाएको छ।

सरकारको उक्त निर्णयसँगै नेपालमा मिडरेञ्जका मोबाइल फोन वैधानिक तरिकाबाट प्रयोग गर्न सम्भव नरहेको मोबाइल फोन इम्पोटर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सञ्जय अग्रवालले बताए।

‘नेपालमा मोबाइल फोनको आयात माथि प्रतिबन्ध नहुँदा पनि कालोबजारी मौलाइरहेको थियो। अहिले सरकारले मिडरेञ्जको फोनमा प्रतिबन्ध लगाएसँगै कालोबजारी थप बढेर जानेछ,’ अग्रवाले भने, ‘कुनै पनि मुलुकको जनताले मिडरेञ्जको फोन चलाउन नपाउने हुँदैन।’

सरकारले प्रिमियम मोबाइलको आयातमा प्रतिबन्ध लगाए पनि मिडरेञ्जको फोनको हकमा भने धेरै कठोर बन्न नहुने उनको बुझाई छ।

गत आर्थिक २०७८र७९ वर्षको बजेटमा २०७८ को साउन १ गतेदेखि नै नेपामा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गर्ने उल्लेख छ। तर आर्थिक २०७९र८० को बजेट कार्यान्वयनमा आइ सक्दा पनि एमडीएमएस लागू हुन सकेको छैन।

एमडीएमएस लागू नभइसकेको अवस्थामा मिडरेञ्जको मोबाइल माथि प्रतिबन्ध लगाउँदा कालो बजारी अझै मौलाएर जाने खतरा रहेको उनले बताए।

‘उक्त व्यवस्थाले वैधानिक आयात माथि मात्र प्रतिबन्ध लगाएको हो,’ उनले भने, ‘विगतमा पनि कालो बजारी हुने गरेको अहिलेको व्यवस्थाले यसलाई झनै पक्षपोषण गरेको छ।’

सरकारले बिन अध्ययन तथा पूर्व तयारी मुलुकको राजश्वमा तेस्रो ठूलो योग्दान पुर्याउँने व्यापार तथा व्यवसायमा प्रतिबन्ध लगाउँदा व्यवसायीको अबौंको लगानी धरायसी हुने अवस्थामा पुगेको छ। यो व्यवस्थाले ५, ६ जना व्यवसायीलाई मात्र असर गर्दै यस क्षेत्रबाट प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका ५० हजारभन्दा धेरैको जीवन यापनमा जटिलता पैदा हुन्छ।

मोबाइल व्यासायी संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले मिडरेञ्जको स्मार्टफोन माथिको प्रतिबन्धले मोबाइल व्यवसाय प्रभावित हुने बताए।

‘कुनै पनि बस्तु माथिको प्रतिबन्धले त्यसको बजारमा असर गर्छ। मोबाइल फोन मानिसहरुको आवश्यकता भइसकेको छ। मोबाइल फोनको प्रयोगले धेरै काममा सहजता ल्याइदिएको छ,’ उनले भने, ‘सूचना प्रविधिका क्षेत्रमा काम गर्नेका लागि मिडरेञ्जको फोन आधारभूत आवश्यकता भइसकेको छ।’

मिडरेञ्जको फोन माथिको प्रतिबन्धले कालो बजारीलाई प्रशय दिने उनको बुझाइ छ। ३५, ३६ हजारभन्दा सस्तो मूल्यको बजार ८५ प्रतिशतभन्दा धेरै छ। मिडरेञ्ज र प्रिमियम मोबाइलको बजार करिब १५ प्रतिशतको हाराहारीमा रहेको उनले जानकारी दिए।

राज्यले प्रतिबन्ध लगाए पनि मिडरेञ्ज र प्रिमियम फोन प्रयोग गर्ने बानी परेकालेहरुले त्यसको जसरी पनि जोहो गर्ने उनको बुझाइ छ। विदेशबाट आउने व्यक्तिले एउटा फोन ल्याउन पाउँछन्। धेरै नेपालीका साथी भाइ विदेशमा छन्। यसले गर्दा महँगो फोन चलाउन चाहनेलाई प्रतिबन्धले रोक्न नसक्ने उनको भनाई छ।

सरकारले चुलिँदो व्यापार घाटा र विदेशी रकमको सञ्चिती बढाउनका लागि ३०० अमेरिकी डलरभन्दा माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा नयाँ सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्मका लागि सो प्रावधानलाई निरन्तरता दिएको हो।

नयाँ राजपत्रअनुसार अब ३०० डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध गरेको हो।

यसअघि ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो।

प्रकाशित: १ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...