
काठमाडौं ।
साउन १ गते अर्थात आज आइतबारदेखि आन्तरिक राजस्व विभागले आयकरको सीमा, त्यसमा लाग्ने करको दर तथा विद्युतीय बीजकसम्बन्धि नयाँ नियम जारी गरेको छ।
चालु आर्थिक वर्षको बजेटमा आयकरको सीमा हेरफेर तथा नयाँ नियमहरु लागू गरिएअनुसार विद्युतीय बीजकसम्बन्धि नयाँ नियम लागू भएको हो।
विभागले १० करोड रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने कम्पनीलाई विद्युतीय बिजक ईबिलिङ्ग वा कम्प्युटर बिलिङ्ग जारी गर्न सार्वजनिक सूचनामा उल्लेख छ।
आर्थिक ऐन २०७९ ले मूल्य अभिवृद्धि कर ऐन र आयकर ऐन परिमार्जन गरेसँगै सो व्यवस्था लागू भएको हो।
विभागले आर्थिक वर्षको साउन १ गतेदेखि विद्युतीय माध्यम (ईबिलिङ्ग तथा कम्प्यूटर विलिङ्ग)बाट बीजक व्यवस्था अनिवार्य रुपमा लागू गर्न भनेको छ।
आर्थिक ऐनले भ्याट ऐन २०५२ को दफा १४ क को उपदफा २ तथा आयकर ऐन २०५८ को दफा ८१ को उपदफा ४ संशोधन गरेको छ।
सो संशोधनअनुसार आर्थिक वर्ष २०७७/७८ वा २०७८/७९ को भ्याट तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले यो नियम पालना गर्नुपर्नेछ।
त्यस्तै बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु (काठमाडौं उपत्यका बाहिरका समेत) लाई पनि लागू हुने छ।
तर यो नियम बैंक तथा वित्तीय संस्थालाई भने लागू हुने छैन।
यसैगरी सोभन्दा कम कारोबार गर्ने कम्पनीले पनि स्वेच्छिकरुपमा विद्युतीय बीजक जारी गर्न पाउनेछ।
विभागकाअनुसार यसअघि निर्देशित भएका व्यवसायहरुले पनि अनिवार्य विद्युतीय बीजक जारी गर्ने प्रावधान निरन्तर रहेको छ।
विभागको २०७५ फागुन २९ गते जारी सूचनामा तोकिएअनुसारका कम्पनीहरुले समेत विद्युतीय माध्मयबाट बीजक जारी गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेछ।
विद्युतीय बीजकसम्बन्धी आधिकारिक सफ्टवेयरहरुको सूची विभागले वेबसाइटमा राखेको छ र सोही आधारमा विद्युतीय माध्मयबाट बीजक जारी गर्नुपर्नेछ।
प्रकाशित: १ श्रावण २०७९, आईतवार