
काठमाडौं ।
काठमाडौं उपत्यकाको स्मार्ट सीटीको कार्यान्वयन अलपत्र अवस्थामा रहेको देखिएको छ।
शहरी विकास मन्त्रालय उपत्यकामा बनाउने भनिएको स्मार्ट सीटीको अवधारणा स्वीकृत गरेपनि निर्माण कार्यका लागि डिपिआर नै तयार हुन नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
हालै सार्वजनिक गरिएको ५९ औं प्रतिवेदनअनुसार सरकारले काठमाडौं उपत्यकाको बस्ती व्यवस्थापन गर्न २०७५ बैशाख २५ गते स्मार्ट सीटीको अवधारणा स्वीकृत गरेको थियो।
बाहिरी चक्रपथको कार्यसम्पादन अवस्था यकिन भै नसकेको स्थितिमा सोही क्षेत्रको अधिकांश भू-भाग समेटिने गरी काठमाडौं उत्तरपूर्वमा १ लाख रोपनी, काठमाडौं उत्तरमा १० हजार रोपनी तथा ललितपुर र भक्तपुरमा १०/१० हजार रोपनी क्षेत्रमा ४ स्मार्ट सीटीको आयोजना अघि बढाउने लक्ष्य अनुरूप तीन आयोजनाको भौतिक विकास योजना स्वीकृत भए तापनि विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरेको छैन।
ललितपुर महानगरपालिकाले स्वीकृति नदिएको कारण ललितपुरमा स्मार्ट सीटीको अवधारणा कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी स्मार्ट सीटीको अवधारणा स्वीकृत भएको ३ वर्षसम्म विस्तृत आयोजना प्रतिवेदन तयार हुन नसकेको र स्मार्ट सीटी क्षेत्रको जग्गाको कित्ताकाट संरचना निर्माण र बेचबिखन कार्य रोक्का रहेको अवस्था छ।
महालेखाले आयोजना कार्यान्वयनमा लैजाने व्यवस्था मिलाउनुपर्ने सरकारलाई सुझाब दिएको छ।
प्रकाशित: ३२ असार २०७९, शनिबार