
काठमाडौं ।
स्वास्थ्य सेवा विभागले करिब ५० लाखमा किनेको सफ्टवेयर संचालनमा नै नल्याएको देखिएको छ।
विभागले इलेक्ट्रोनिक हेल्थ रेकर्ड खरिद गरेपनि सफ्टवेयर प्रयोगमा नल्याएको भन्दै महालेखापरीक्षकले संचालनमा ल्याउन भनेको हो।
महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन, २०७९ मा विभागले मेरो अस्पताल’ एप्स तथा ‘इलेक्ट्रोनिक हेल्थ रेकर्ड’ सफ्टवेयर निर्माण गराएको उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार स्वास्थ्य संस्थाले दिने सेवाहरूको बारेमा नागरिकले सूचनाको पहुँचबाट उपचारको लागि स्वास्थ्य संस्था छनोट सुनिक्षित गर्ने उद्देश्यले ‘मेरो अस्पताल’ एप्स निर्माण तथा बिरामीहरूको उपचार सम्बन्धी सम्पूर्ण विवरण विद्युतीय प्रणालीमा राखी रियल टाइममा बिरामीको उपचारसम्बन्धी तथ्याङ्क तुरुन्त उपलब्ध गराई स्तरीय उपचार गर्ने प्रणालीको विकास गर्न ‘इलेक्ट्रोनिक हेल्थ रेकर्ड’ सफ्टवेयर निर्माण गरेबापत एक परामर्शदातालाई सम्झौता बमोजिम रू. ४९ लाख ६० हजार भुक्तानी दिए तापनि सफ्टवेयर प्रयोगमा ल्याएको छैन्।
सरकारी, गैरसरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरलाई सुधार गर्न स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई आधुनिकीकरण, गुणस्तरीय एवं प्रविधिमैत्री बनाई एकीकृत स्वास्थ्य सूचना प्रणालीको विकास गर्न निर्माण भएका सफ्टवेयर प्रयोगमा ल्याउनुपर्ने सुझाब दिएको छ।
यसैगरी प्रतिवेदनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सफ्टवेयर नै नबनाई एक सफ्टवेयर कम्पनीलाई १ करोड रुपैयाँ भुक्तानी दिएको औंल्याएको छ।
केन्द्रले प्रशासन, लेखा, फार्मेसी, अस्पताल व्यवस्थापनमा एकीकृत सफ्टवेयर निर्माण गर्न एक कम्पनीसँग २०७४ असार ३० मा रू.१ करोड ४० लाख ३८ हजारको सम्झौता गरेकोमा सो लेखापरीक्षण गरिएको वर्षसम्म पनि उक्त कार्य सम्पन्न भएको छैन्।
सम्झौतामा कार्य सम्पन्न गर्नुपर्ने अवधि नै उल्लेख नभएको, कार्यसम्पादन जमानत नलिएको र निजलाई रू.१ करोड १९ लाख २९ हजार पेश्की उपलब्ध गराएको उल्लेख छ।
“कम्पनीसँग पेश्की जमानत नलिएकोले सम्झौता बमोजिम कारबाही गर्न कठिनाइ परेको देखियो। सम्झौताअनुसार सफ्टवेयर निर्माण जडान र सज्ञालनको लागि सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई सफ्टवेयर पूर्णरूपमा सशालनमा ल्याउनुपर्दछ,” महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदनमा भनिएको छ।
प्रकाशित: ३१ असार २०७९, शुक्रबार