
काठमाडौं ।
नेपाल टेलिकमको करिब १६ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जोखिममा रहेको देखिएको छ। सरकारी दूरसञ्चार कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको जग्गा र सवारीसाधनलगायतको बीमा गरेपनि आधा भन्दा धेरै सम्पत्तिको बीमा नगर्दा जोखिम थपिएको महालेखापरीक्षकले औंल्याएको छ।
कम्पनीले वर्षान्तमा कम्पनीको स्वामित्वमा रहेको जग्गा र सवारीसाधन लगायतका १२ अर्ब ७६ करोड रुपैयाँ बराबरको सम्पत्तिको लागि अग्नि र भूकम्प जोखिमको मात्र बीमा गरेको छ। यस बाहेकको सम्पत्तिहरुको कुनैपनि बीमा नगरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
महालेखाको ५९ औं वार्षिक प्रतिवेदनअनुसार कम्पनीसँग करिब २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको सम्पत्ति, उपकरण तथा औजारहरु रहेको छ। यसको अर्थ टेलिकमको आफ्नो कुल सम्पत्तिको आधा भन्दा धेरै सम्पत्तिहरु बीमाले समेटने भन्दा बाहिर जोखिमको अवस्थामा रहेका छन्।
यसैगरी कम्पनीले अन्य क्षेत्रमा समेत जोखिम व्यवस्थापन नगरेको भेटिएको छ।
कम्पनीले बिलिङ्ग सिस्टम,डाटा सेक्यूरिटी, विभिन्न किसिमका सफ्टवेयर, सूचना प्रविधि उपकरणहरुको सञ्चालन लगायतका क्षेत्रमा पर्याप्त जोखिम व्यवस्थान गरेको नपाईएको प्रतिवेदनले औंल्याएको छ।
महालेखाकाअनुसार कम्पनीले अन्य कम्पनीका उपकरण तथा सफ्टवेयरहरुको प्रयोग गरिरहेकोले सफ्टवेयर सुरक्षाको जोखिम बढी रहेको छ।
साथै कम्पनीले टेलिकम कोर उपकरण तथा ती उपकरणहरु रहेका भवनहरुमा सुरक्षाका लागि पहुँचमा नियन्त्रण, तापक्रमको नियन्त्रण, भवन आइसोलेसन जस्ता विशेष उपायहरुसहित सुरक्षाका उचित प्रबन्ध गरेको छैन्।
कम्पनीले सफ्टवेयर तथा डाटा सेक्यूरिटीको समेत प्रभावकारी रुपमा सुरक्षाको प्रबन्ध गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनले सुझाब दिएको छ।
प्रकाशित: ३० असार २०७९, बिहीबार