
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ । व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो गर्न लागेको हो ।
महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ । हाल महानगरपालिकासँग अनुमति लिएर राखिएका विज्ञापन सामग्रीलाई समेत आवश्यकताअनुसार स्थानान्तरण गरिनेछ ।
महानगरपालिकाको राजस्व विभागले यसअघि नै डिजिटल बोर्डको मापदण्ड निर्धारण तथा स्थान चयनको विषयमा नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्ताव विधायन समितिमा गरेको थियो । कामपा राजस्व विभागका प्रमुख डा। शिव अधिकारीले नीति तथा कार्यक्रममै यो विषय उल्लेख भएपछि कार्यान्वयन प्रक्रियाअघि बढेको जानकारी दिए।
अबदेखि डिजिटल तथा अन्य प्रकारका बोर्ड कस्ता ठाउँमा राख्न पाउने तथा बोर्डको आकार र शुल्क निर्धारणसमेत महानगर आफैँले गर्नेछ । यसको व्यवस्थापन राजस्व विभागले गर्नेछ । महानगरभित्र रहेका डिजिटल होर्डिङ बोर्डको यकिन सङ्ख्याका बारेमा महानगरपालिका अनभिज्ञ छ ।
महानगरभित्र करिब ४० ओटा बोर्ड मात्र अनुमतिअनुसार राखिएको छ ।
त्यस्ता बोर्डले सडकमा फाल्ने प्रकाशको मात्रा पनि निर्धारण गरिएको छैन । जसका कारण बटुवालाई आकर्षित गर्ने नाममा बोर्डबाट रङ्गीविरङ्गी प्रकाशका किरण फाल्ने गरिएको छ ।
तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बटुवाको स्वास्थ्य संवेदनशीलतालाई समेत बेवास्ता गर्दा यस्ता किरणले अदृश्य रूपमा आँखामा समस्या निम्त्याउने बताए ।
अहिले कालीमाटी, टेकु, कलङ्की, नयाँ सडक, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, बौद्ध, लगनखेल, भक्तपुरलगायत थुप्रै स्थानमा बडेमानका डिजिटल बोर्ड राखिएका छन् ।
काठमाडौँ महानगरपालिकाले होर्डिङ बोर्डको अवधारणा हटाएपछि व्यापारीले त्यसको विकल्पका रूपमा डिजिटल बोर्डको सुरुवात गरेका हुन् । तर सहरलाई उज्यालो र रङ्गीन बनाउने नाममा व्यापारीले यसलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाइरहेका छन् ।
महानगरपालिकाको राजस्व विभागबाट स्वीकृति लिएपछि डिजिटल बोर्ड राख्न पाइने भए पनि बोर्ड राख्ने स्थान, त्यसले सिर्जना गर्ने प्रकाशको मापदण्ड तथा त्यस्ता बोर्डबाट प्रसारण गर्न पाइने विज्ञापनका सम्बन्धमा कुनै मापदण्ड छैन ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरलाई सफा गर्ने अभियानअन्तर्गत डिजिटल तथा अन्य प्रकारका बोर्डको अनुगमन र नियन्त्रण गर्न थालिएको हो । गोरखापत्रबाट
प्रकाशित: २७ असार २०७९, सोमबार