
काठमाडौं ।
भारतको वित्तीय अपराध एजेन्सीले चिनियाँ स्मार्टफोन निर्माता भिभोसँग आबद्ध ११९ ओटा बैंक खाताहरु रोक्का गरेको छ।
नियमनकारी निकायले बिहीबार कथित मनी लन्ड्रिङ्गको अनुसन्धानको भागको रूपमा ४.६५ अर्ब भारतीय रुपैयाँ राखेको भिभोको भारत व्यापारसँग जोडिएका ११९ ओटा बैंक खाताहरू रोक्का गरेको बताएको हो।
इन्फोर्समेन्ट डाइरेक्टरेटले भिभो र यसका २३ सम्बन्धित संस्थाहरूको ४८ स्थानहरूमा यस हप्ता छापा मारेको छ। यसमा कम्पनीमाथि भिभो इण्डियाको बिक्रीबाट प्राप्त रकम घाटा देखाउन र कर तिर्नबाट बच्नको लागि भारत बाहिर पठाइएको आरोप लगाइएको रोयटर्सले जनाएको छ।
भिभो कम्पनी चीनको बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा रहेको छ। यस हप्ताको सुरुमा, भिभोले अधिकारीहरूसँग सहकार्य गरिरहेको र भारतीय कानूनहरूको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको बताएको थियो।
भिभोले आफ्नो कुल बिक्रीको लगभग ५० प्रतिशत १,२५१.८५ अर्ब रुपैयाँ चीनमा पठाएको थियो। “भारतमा कर तिर्नबाट बच्नका लागि भारतीय कम्पनीहरूमा ठूलो घाटा खुलाउन,” एजेन्सीले प्रेस विज्ञप्तिमा आरोप लगाएको छ।
फेब्रुअरी २०२२ देखि अनुसन्धान जारी छ।
छापा मारेको समाचारले भारतमा रहेको चिनियाँ दूतावासलाई आफ्ना कम्पनीहरूका लागि उचित व्यापारिक वातावरणको लागि आह्वान गर्न प्रेरित गर्यो, बुधबार दूतावासले चिनियाँ कम्पनीहरूमा भारतको विभिन्न अनुसन्धानले देशमा विदेशी संस्थाहरूको लगानी र सञ्चालनको विश्वासलाई हानि पुर्याइरहेको बताएको थियो।
काउन्टरपोइन्ट रिसर्चका अनुसार, भिभो भारतको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताहरू मध्ये एक हो, जसको १५ प्रतिशत बजार हिस्सा छ।
प्रकाशित: २४ असार २०७९, शुक्रबार