आगामी आवमा दूरसञ्चार प्राधिकरणको ७ अर्ब ७ करोड रुपैयाँको बजेट, नपुग ३ अर्ब सरकार माग्दै

  • Technology Khabar | २३ असार २०७९, बिहीबार
आगामी आवमा दूरसञ्चार प्राधिकरणको ७ अर्ब ७ करोड रुपैयाँको बजेट, नपुग ३ अर्ब सरकार माग्दै

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट अभाव हुने भएको छ। प्राधिकरणले चालु आर्थिक वर्षको बजेट नै व्यवस्थापन गर्न कठिन भईरहेको अवस्थामा आगामी आवको बजेटमा रकम अभाव हुने बताएको छ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणबाट नियमितरुपमा रकम लैजाने गरेसँगै बजेट अभाव देखिएको हो।

आगामी आर्थिक वर्षको बजेट अभाव हुने भएपछि प्राधिकरणले सरकारसँग करिब ३ अर्ब रुपैयाँ माग गरेको छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारसँग आगामी वर्षको लागि करिब ३ अर्ब रुपैयाँ माग गरिएको जानकारी दिए।

“आगामी आवको बजेटमा रकम अभाव हुने भएपछि हामीले सरकारसँग स्रोत सुनिश्चित गरिदिन अनुरोध गरेर पत्र पठाएका छौं,” अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग अपुग हुने रकम माग गरीएको हो।

प्राधिकरणको जेठ ३१ गते बसेको बोर्ड बैठकले आगामी वर्षको बजेटको कार्यक्रम स्वीकृत गरेको छ। सोही वार्षिक कार्यक्रमका लागि रकम अभाव हुने भन्दै रकम व्यवस्था गरिदिन सरकारसँग अनुरोध गरेको हो।

प्राधिकरणले आगामी आर्थिक वर्षको लागि कुल ७ अर्ब ७ करोड १७ लाख रुपैयाँको वार्षिक कार्यक्रम तयार पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेश गरेको छ।

वार्षिक कार्यक्रममध्ये ४ अर्ब ७२ करोड १७ लाख रुपैयाँ प्राधिकरण तर्फको बजेट रहेको छ भने ग्रामीण दूरसञ्चार कोषतर्फ २ अर्ब ३५ करोड रुपैयाँको वार्षिक कार्यक्रम तयार पारिएको छ।

प्राधिकरण अध्यक्षकाअनुसार आगामी वर्षमा स्रोत सुनिश्चित नभएको अवस्थामा सूचना प्रविधि ल्याब, डिजिटल केवाईसीलगायतका कार्यक्रमहरु प्रभावित हुनेछन्।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९का लागि ७ अर्ब ४२ करोड रुपैयाँको बजेट चलाईरहेको छ। आगामी वर्षका लागि भने करिब ३५ करोड रुपैयाँ कमको बजेट प्रस्ताव गरेको छ।

आर्थिक अध्यादेश, २०७८ ले दूरसञ्चार ऐन, २०५३ को दफा ४४ मा भएको संशोधन गर्दै चालु आवमा हुने खर्च र त्यसको ५० प्रतिशतले हुन आउने रकम श्रोत सुनिश्चित गरी नेपाल सरकारको संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने प्रावधान गरेको छ।

प्राधिकरणले मन्त्रालय पठाएको सो वार्षिक बजेट कार्यक्रमलाई स्वीकृत दिएपछि लागू हुनेछ। मन्त्रालयले बजेटमा केहि कार्यक्रमहरुमा थपघट गर्नसक्नेछ।

हेर्नुस् सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणको कोषको रकम स्वतः सरकारको खातामा, वार्षिक कार्यक्रमको रकम भने पाउने

जसले गर्दा आगामी आवको बजेट रकम प्रभावित भएको बताईएको छ।

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार