ई-पासपोर्टका लागि दैनिक २४ हजार आवेदन, जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिन अनुरोध

  • Technology Khabar | १९ असार २०७९, आईतवार
ई-पासपोर्टका लागि दैनिक २४ हजार आवेदन, जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिन अनुरोध

काठमाडौं ।

राहदानी विभागले सर्वसाधारणलाई आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयबाटै राहदानी(ई-पासपोर्ट) लिनका लागि अनुरोध गरेको छ।

विभागले करिब १५ दिनभित्रमा नै देशभरका प्रशासन कार्यालयबाट ईपासपोर्ट लिन सकिने भएको भन्दै अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ। एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक साता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ।

“काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ। यसर्थ, अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ,’’ विभागले सूचनामा भनेको छ।

हाल दैनिकरुपमा विभागमा आवेदन दिनेहरुको संख्या २४ हजार रहेको छ भने राहदानी तयार भएपछि लिन आउने र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिइरहेको विभागको दावी छ। विभागले हाल दैनिकरुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जनाएको छ।

अत्यावश्यक अवस्थामा फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको सूचनामा उल्लेख छ।

‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन पनि हार्दिक अनुरोध छ’ सूचनामा भनिएको छ।

विभागले हाल देशभरका सबै जिल्ला प्रशासन कार्यालय र १७ ओटा इलाका प्रशासन कार्यालयबाट ईपासपोर्टको काम नियमितरुपमा हुने जनाएको छ।

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार