
काठमाडौं ।
लुम्बिनी प्रदेशमा मोबाइल बैंकिङ्ग सेवा चलाउने २६ लाख भन्दा धेरै ग्राहकहरुमध्ये ७५.७४ प्रतिशत सक्रिय सेवाग्राहीहरु रहेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८।७९ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदनअनुसार प्रदेशको बैंक तथा वित्तीय संस्थाहरुमा २६ लाख ४६ हजार १७१ मोबाईल बैंकिङ्ग सेवा र १ लाख ८२ हजार ६६ ईन्टरनेट बैंकिङ्ग सेवा दर्ता भएको छ। त्यस्तै बाणिज्य बैंकहरुले लुम्बिनी प्रदेशमा ५८५ शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराएका छन्।
कुल मोबाईल बैंकिङ्ग सेवामा सक्रिय ग्राहकको ७५.७४ प्रतिशत हिस्सा रहेको छ भने कुल ईन्टरनेट बैंकिङ्ग सेवामा सक्रिय ग्राहकको ७४.४५ प्रतिशत हिस्सा रहेको तथ्यांकमा उल्लेख छ।
जिल्लाहरुमा कुल मोबाईल बैंकिङ्ग सेवा दर्ता संख्या तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (३३.२७ प्रतिशत) रहेको छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.२८ प्रतिशत रहेको छ ।
त्यसैगरी ईन्टरनेट बैंकिङ्ग सेवा दर्ता संख्या तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै (५२.०२ प्रतिशत) रहेको छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम (०.०४ प्रतिशत) रहेको छ।
यसैगरी जिल्लाहरुमा बाणिज्य बैंकहरुको कुल शाखा रहित बैंकिङ्ग सेवा तुलना गर्दा समीक्षा अवधिमा रुपन्देही जिल्लाको हिस्सा सवैभन्दा धेरै (३८.१२ प्रतिशत) रहेको छ भने रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम (०.३४ प्रतिशत) रहेको छ।
अर्कोतर्फ सो प्रदेशमा बैंक तथा वित्तिय संस्थाको उल्लेखनिय उपस्थिती रहेतापनि कतिपय जिल्लाहरुमा बैकिङ्ग सेवा एवं डिजीटल बैंकिङ्गका प्रविधिहरु प्रयोगमा अझै पछाडी रहेकोले सो मा वृद्धि तथा विकास गर्नु चुनौतीपूर्ण रहेको प्रतिवेदनले औंल्याएको छ।
यसका साथै बिजुली, इन्टरनेट, टेलिफोन, सवारी तथा अन्य आवश्यक स्रोत साधनहरु सहजै उपलब्ध नभएको कारण प्रशासनिक काममा सहजीकरण गर्ने कार्यमा समेत चुनौती थपिएको उल्लेख छ।
प्रकाशित: १७ असार २०७९, शुक्रबार