
काठमाडौं ।
मंगल ग्रहमा कयौं वर्षदेखि जीवनको खोजी गरिँदै आएको छ। यसको लागि अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले विभिन्न अभियान र यानहरु संचालन गर्दै आएको छ।
अहिलेपनि नासाको क्युरियोसिटी र पर्सिभेरन्स रोभरले मंगल ग्रहको सतहमा प्राचिन जीवनको प्रमाण खोजिरहेका छन्। तर अहिले आएर के थाहा भएको छ भने यी प्रमाण पाउनका लागि सायद यहाँको सतकलाई केही गहिराइसम्म खन्नुपर्ने हुनसक्ने बताईएको छ।
नासाको नयाँ अनुसन्धानले बताएअनुसार यदि मंगल ग्रहमा कुनै समय जीवन थियो भने त्यतिबेला बाँकी भएको अमिनो एसिडको कुनै पनि प्रमाण, जमिनबाट कम्तीमा २ मिटर वा ६.६ फिट तल दबिएको हुनसक्छ। यस्तो हुनुको कारण के हो भने मंगलमा पृथ्वीको जस्तो चुम्बकीय क्षेत्र छैन र कमजोर वातावरणका कारण यसको सतहमा कस्मिक रेडिएसन पृथ्वीको तुलनामा निकै धेरै छ। कस्मिक रेडिएसनले वातावरणमा हुने अमिनो एसिडलाई नष्ट गर्ने गर्छ।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका भौतिक विज्ञानका अध्येता अलेक्जेन्डर पेभलोभका अनुसार मंगल ग्रहको सतहका चट्टान र रेगोलिथमा कस्मिक रेडिएसनले अमिनो एसिडलाई पहिला सोचेभन्दा निकै तीब्र गतिमा नष्ट गरिदिने तथ्य फेला परेको छ।
उनकाअनुसार हालको मार्स रोभरले करिब २ इन्चसम्म मात्र ड्रिल गर्न सक्दछ। “त्यस गहिराईमा अमिनो एसिड पुरै नस्ट हुन करिब २ करोड वर्ष मात्र लाग्दछ। परक्लोरेट र पानीको उपस्थितिले अमिनो एसिड थप तिब्ररुपमा नष्ट गर्दछ,” उनले भने।
साइन्स अलर्टको रिपोर्टअनुसार मार्स एक्सप्लोरेशनका लागि कस्मिक रेडिएशन एउटा निकै ठूलो समस्या हो। पृथ्वीमा मानिस हरेक वर्ष करिब ०.३३ मिलिसिवर्ट कस्मिक रेडिएसनको सम्पर्कमा आउने गर्छ। मंगल ग्रहमा वार्षिक यस्तो एक्सपोजर २५० मिलिसिवर्टभन्दा बढी हुने गर्छ।
एस्ट्रोबायोलोजीमा प्रकाशित शोध अनुसार पेभलोभ र उनको टिमले मंगल ग्रहको सतहमा अमिनो एसिडको प्रमाण भेटिनुको सम्भावनालाई उत्कृष्ट तरिकाले बुझन् चाहन्थे त्यसैले उनीहरुले एक प्रयोग गरे।
उनीहरुले सिलिका, हाइट्रेडेड सिलिका, वा सिलिका र परक्लोरेट्स (साल्ट) लाई मिलाएर मंगल ग्रहजस्तो माटो बनाए र त्यसमा मिनरल्सका साथै एमिनो एसिड मिसाए । त्यसपछि त्यसलाई टेस्ट ट्युबमा सील गरिदिए। भिन्न–भिन्न टेस्ट ट्युबले मंगलको भिन्न–भिन्न तापक्रममा, ग्रहको वातावरणलाई दर्साउने गर्छ । त्यसपछि उक्त समूहले त्यसमा रेडिएसन छोडे। यो प्रयोगले माटोको सिमुलेन्टबाहेक अमिनो एसिडलाई नष्ट गरिदियो ।
यसमार्फत के पत्ता लाग्यो भने सिलिकेट्स, विशेषगरी परक्लोरेट्सयुक्त सिलिकेट्सले अमिनो एसिडलाई नष्ट गर्ने दरलाई असाध्यै धेरै बढाउने गर्छ । यसको अर्थ मंगल ग्रहको सतहमा कुनै प्रकारको अमिनो एसिड जुन करिब १० करोड वर्ष पुरानो होला, र ती सबै नष्ट भइसकेका छन् ।
त्यसैले मंगल ग्रहमा अमिनो एसिडलाई खोज्नु छ भने सतहभन्दा केही गहिराइमा खन्नुपर्ने हुन्छ र जमिनबाट कम्तीमा २ मिटर वा ६.६ फिट तल दबिएको हुनसक्नेछ।
प्रकाशित: १६ असार २०७९, बिहीबार