
काठमाडौं ।
नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत, निर्यातमा नगद अनुदान लगायतका उद्योगसँग सम्बन्धित कार्यहरु अब अनलाइनबाटै हुने भएको छ।
उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको सूचनामा उल्लेख छ। विभागलाई ‘डिजिटलाइजेसन’मा लैजाने प्रक्रियाअन्तर्गत ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) सफ्टवेयर सार्वजनिक गरिएको हो।
सो सफ्टवेयरमार्फत नयाँ उद्योग दर्तादेखि स्वीकृति लिनेसम्म अनलाइनबाटै गर्न सकिनेछ भने पुराना उद्योगको नवीकरण, अद्यावधिक, पूँजी वृद्धिलगायतका कार्य पनि गर्न सकिने बताईएको छ।
विभागकाकाअनुसार सेवालाई आधुनिक र प्रविधियुक्त बनाउन परीक्षणका रूपमा आईएमआईएस सफ्टवेयर प्रणाली शुभारम्भ गरिएको हो।
नयाँ उद्योग दर्ता, नवीकरण, प्रशासनिक काम, निर्यातमा नगद अनुदान, स्वदेशी विदेशी लगानी स्वीकृतदेखि विभागबाट हुने सबै काम अनलाइनबाटै गरिने छ।
परीक्षणका रूपमा काम सुरु गरिएकाले केही समस्या आए तत्काल समाधान गरिने र केन्द्रमा सफल भएपछि दोस्रो चरणमा प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयहरुलाई एकीकृत रूपमा अनलाइनमा जोडिने योजना रहेको छ।
हाल परीक्षण प्रयोगमा रहेको सफ्टवेयरलाई सेवाग्राहीमैत्री बनाउनका लागि विभाग प्रतिबद्ध रहेको जनाएको छ।
Notices-20220628191623642प्रकाशित: १६ असार २०७९, बिहीबार