
काठमाडौं ।
एमआईटीका अनुसन्धाताहरुको एउटा टोलीले दिमागमा केमोथेरापीको औषधी पुर्याउन सघाउने नानोपार्टिकल निर्माण गरेका छन्।
उनीहरुले हालै नानोपार्टिकलको कार्य प्रदर्शन गर्ने मानव तन्तु मोडल सिर्जना गरेका हुन्।
ग्याजेट्स३६० का अनुसार उच्च घातकता रहेका ग्लिओब्लास्टोमा जस्ता क्यान्सर उपचार गर्नु जटिल हुन्छ। रगतको अवरोधका कारण अधिकांश केमोथेरापी औषधीहरु दिमाग वरपर रहेका नसामार्फत छिर्न नसक्ने भएकाले उपचार असहज हुने बताइएको छ।
हाल अनुसन्धाता टोलीले सिर्जना गरेको उक्त नानोपार्टिकलले भने औषधी बोकेर ग्लिओब्लास्टोमा तन्तुलाई मार्दै ट्युमरमा प्रवेश गर्ने बताइएको छ।
नानोपार्टिकलको प्रभावकारिता परीक्षण गर्न अनुसन्धाताहरुले एउटा तरिका र मोडल बनाएका छन् जुन ब्लड ब्रेन ब्यारियर अर्थात् दिमागमा केही जान नदिने रगतको अवरोध प्रणाली जस्तै रहेको छ।
उक्त ब्रेन टिस्यू मोडलका बारेमा हालै प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित लेखमा ब्याख्या गरिएको डिजिटाइम्सले उल्लेख गरेको छ।
‘लगभग वास्तविक मोडलमा यी नानोपार्टिकलहरु परीक्षण गरेपछि हामी क्लिनिकमा लाग्ने थुप्रै समय बचत गर्न सकिने हाम्रो अपेक्षा छ’, एमआईटीसम्बद्ध वैज्ञानिक तथा उक्त अध्ययनकी प्रमुख जोएला स्ट्राएलाले भनिन्।
प्रकाशित: १३ असार २०७९, सोमबार