पहिलो पटक सोलुखुम्बुमा जोडियो नेपाल टेलिकमको फाइबर

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
पहिलो पटक सोलुखुम्बुमा जोडियो नेपाल टेलिकमको फाइबर

काठमाडौं ।

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमले फाईबर सेवा बिस्तार गरेको छ। नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्तालेहुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो।

सोलुलाई द्रूतमार्गको फाइबर लिङ्कबाट सेवा प्रदान गर्न काम सुरु गरेको झण्डै डेढ बर्षपछि लिङ्क पुर्याउन सफल भएको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए। उनकाअनुसार सडकको किनार हुँदै जमिनमुनीबाट विच्छ्याउनुपर्ने फाईबर सोलुदूधकुण्ड नगरपालिका ११ स्थित साल्मे क्षेत्रको पहिरोका कारण करिब नौ महिना रोकिएको थियो।

साल्मेमा पहिरो गईरहने भएकाले सो स्थानको करिब २ किलोमिटर क्षेत्रमा फलामे पोलको व्यवस्था गरी नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीसम्म फाईबर पुर्याइएको प्रमुख पन्थीले बताए। फाइबर पुगेसँगै टेलिफोन तथा मोबाईलमा आवाज नबुजिने, काटिने, पटक पटक नेटवर्क गईरहने जस्ता समस्याबाट जिल्लावासी मुक्त भएको नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीले जनाएको छ।

नेपाल टेलिकमले हाल ४८ कोर रहेको भूमिगत फाइबरबाट सल्लेरी बजार लाई जोडेको छ। उक्त फाइबरबाट १० जिबिपिएस क्षमतामा लिङ्क सञ्चालन गरिएको छ। यस भन्दा पहिले पत्ताले स्टेसनबाट जम्मा ६८० एमबिपिएस क्षमताको मात्र रेडियो लिङ्कबाट सल्लेरीको सम्पूर्ण सेवाहरु सञ्चालन गरिएको थियो ।

निकट भविष्यमा सो फाइबरलाई पर्यटकीय क्षेत्र लुक्लासम्म विस्तार गर्ने नेपाल टेलिकमले योजना जनाएको छ।  टेलिभिजन, टेलिफोन र इन्टरनेट सेवा एकै पटक प्रवाह गर्न सकिने फाईबर अब सेवाग्राहीको घरघरमा पुर्याईने पन्थीको भनाइ छ । पहिलो चरणमा आगामी साउनको अन्तिम साताबाट सल्लेरी बजार क्षेत्रको घर घरमा फाईबर विस्तारको काम थलिने छ। गोरखापत्रबाट

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार