
काठमाडौं ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास समृद्धिको मूल आधार रहेको बताएका छन्।
जनकपुरधाममा राष्ट्रिय युवा परिषद् नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको दुई दिवसीय राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै उनले देशको विकासको मुहान विज्ञान प्रविधि बन्नेमा आफू विश्वस्त रहेको बताए।
उनले विज्ञान प्रविधिको विकासका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारका कामलाई अगाडि बढाएको उल्लेख गरे । “विज्ञान प्रविधिमा हामी पछाडि रहेकोले मधेश प्रदेशको लक्ष्य विज्ञान प्रविधिको विकास र स्थानीयस्तरको प्रविधिको अनुसन्धानमा हुनुपर्छ । प्रदेशले लिएको लक्ष्य प्राप्ति गर्न केही समय अझै लाग्छ,” उनले भने।
विज्ञान प्रविधिको विकासलाई मूलधारमा ल्याउन प्रदेश सरकारले कक्षा १२ मा अध्ययन गर्ने चेलीबेटीलाई ल्यापटप वितरण गर्ने योजनाले प्रभावकारी भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले दाबी गरे। यसका लागि प्रदेश सरकारले अगामी आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरिसकेको जानकारी गराए।
सो कार्यक्रममा मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले विज्ञान प्रविधिको विकासका लागि तीनै तहका सरकारले एक आपसमा समन्वय गरी कामकाज गर्नुपर्ने धारणा राखे।
राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय युवा परिषद् नेपालका सदस्य दामोदर रेग्मी, पूर्व विज्ञान प्रविधिमन्त्री गणेश साहलगायतले आ–आफ्नो धारणा राखेका थिए। गोरखापत्रबाट
प्रकाशित: १० असार २०७९, शुक्रबार