नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डाटा सेन्टर अहिलेको आवश्यकता

  • Technology Khabar | ८ असार २०७९, बुधबार
नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डाटा सेन्टर अहिलेको आवश्यकता

काठमाडौं ।

-विलियम झाङ,

सीईओ, ह्वावे नेपाल

आईसीटी अब आर्थिक विकासको ड्राइभिङ फोर्स हो भन्दा कुनै बढाईचढाई नहुने मलाई लाग्छ।आईसीटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामीमाझ आइसकेको छ। तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ- जहाँ कार्बन उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रबिन्दु हुनेछ। महामारीपछिको रिकभरीलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ।

२०२० मा विश्वको जीडीपी २.८% ले घट्यो तर आईसीटीमा लगानी ५% ले बढेको छ। सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५०% डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ। आईसीटी उद्योगसँग सम्बन्धित हाम्रा लागि यो रोमाञ्चक समय हो।

नेपालमा हरेक व्यक्ति, घर र संस्थामा डिजिटल पुर्‍याउने लक्ष्यका साथ आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नवीनतम प्रविधिहरू परिचय गराउन प्रतिबद्ध रहेको छ। कनेक्टिभिटी र कम्प्युटिङ डिजिटल अर्थतन्त्रको आधारशिला हुनेछ जुन ५जी, एफ५जी, आईओटी, क्लाउड र एआईद्वारा संचालित हुनेछ । हामी नेपाली बजारमा यी प्रगतिहरू परिचय गराउने सम्भावनाले उत्साहित छौं ।

हामीले ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टर, क्लाउड र कम्प्युटिङ तथा हाम्रो ग्लोबल अनुसन्धान तथा विकास (आर एण्ड डी) टोलीले विश्वसामु प्रस्तुत गर्दै आएको हरेक नयाँ इनोभेसनको माध्यमबाट नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्न सबै आईसीटी सरोकारवालाहरूसँग साझेदारी गर्ने लक्ष्य राखेका छौं।

डाटा विश्वको सबैभन्दा मूल्यवान रिसोर्स बन्ने बित्तिकै स्थानीयकरण एक नयाँ प्रवृत्ति भएको छ। हामी आशा गर्छौं कि नेपालले पनि क्रस-बोर्डर सूचना प्रवाह र डाटा सुरक्षा र डाटा गोपनीयतामा विशेष ध्यान केन्द्रित गर्ने डाटा उद्योग रणनीति र नीतिहरू लागू गर्नेछ। नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डाटा सेन्टर हुनु अहिलेको आवश्यकता हो। यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण गर्न मात्रै होइन एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न पनि आवश्यक छ।

लो-कार्बन र दिगो समाजको कल्पना आईसीटी उद्योगलाई अपनाएर र पूर्ण रूपमा अँगालेर मात्र गर्न सकिन्छ। नेपालका दूर्गम कुनामा पनि ब्रोडब्यान्ड कनेक्टिभिटि अत्यावश्यक भइसकेको छ – चाहे त्यो विदेशमा रहेका आफन्तहरूसँग भिडियो कल गर्न होस्, अनलाइन सिक्न होस् वा मोबाइल भुक्तानीका लागि होस् । डिजिटल कनेक्टिभिटीले व्यक्ति, साना व्यवसाय र उद्योगहरूलाई सशक्त बनाउँदैछ । नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ तर त्यसका लागि नेपालका हरेक दुर्गम कुना पनि जोडिनुपर्छ । साथै सेवाको गुणस्तरमा सम्झौता गर्न सकिँदैन । म नेपालका नीति निर्माताहरुको भिजनमा विश्वास गर्दछु। मलाई नेपालका युवाहरूको प्रतिभा र सीपमा ठूलो विश्वास छ।

हाम्रो “लाइटिङ अप द फ्युचर” प्रदर्शनीमा हामी जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने समाधानहरू खोजिरहेका छौं । हाम्रो आईसीटी प्रविधिले संसारलाई अझ हरित र थप दिगो स्थान बनाउन कसरी मद्दत गरिरहेको छ भन्ने कुरा खुलाउन पाउँदा हामी धेरै खुसी छौं । मेरा सहकर्मीहरूले हाम्रो प्रदर्शनीमा ह्वावेका सबै लेटेस्ट प्रविधिका व्यावहारिक एप्लिकेसनहरू प्रदर्शन गर्दैछन् र खुशीसाथ तपाईंका जिज्ञासा मेटाउन प्रयास गर्नेछन् । ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ संयुक्तरूपमा आयोजना गर्न पाउँदा हामी खुसी छौं । अन्त्यमा, ह्वावे “नेपालमा, नेपालको लागि” हो र सबै ३ करोड नेपाली नागरिकहरूलाई सेवा दिन तयार छ। हामी एकजुट भई भविष्य उज्यालो पार्न सक्छौं।

ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ मा ह्वावे नेपालका सीईओ विलियम झाङको टिप्पणीको सम्पादित अंश।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार