
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायकलाई सबै उपकरण सही हालतमा राख्न आग्रह गरेको छ।
परियोजना अन्तर्गत तोकिए बमोजिमका गाउँपालिका, नगरपालिका, मातहतका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्न प्राधिकरणले विभिन्न सेवा प्रदायकहरूसँग सम्झौता गरेको थियो।
जडान भएका तोकिएका स्थानहरूमा २ वर्षको निःशुल्क सेवाको अवधि समाप्त भएपछि सेवाग्राहीबाट सेवा निरन्तरताको अनुरोध भएमा सेवालाई निरन्तरता दिनु पर्ने सेवा प्रदायकको दायित्व भएको प्राधिकरणले जनाएको छ।
‘यस्ता सेवा प्राधिकरणबाट स्वीकृत दररेटमा सेवा निरन्तरता गर्नु पर्ने र नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले राज्यका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुलाई इन्टरनेट खर्चमा ५० प्रतिशत सहुलियत दिने नीति अनुसार ती संस्थाहरुमा थप अवधि सेवा उपलब्ध गराउने व्यवस्था गरेको कारणले जडान भएका उपकरण यथास्थितिमा सञ्चालन हुन सक्नेगरी सुरक्षित सँग राख्न सम्बन्धित सबैमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ७ असार २०७९, मंगलवार