
काठमाडौं ।
सीईओ इलन मस्कलाई आलोचना गरेर चिठी लेखेपछि स्पेसएक्सले केही कर्मचारीलाई बर्खास्त गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
बिहीबार पहिलो पटक बाहिर आएको उक्त चिठीमा सामाजिक सञ्जालमा मस्कको व्यवहार ‘ध्यान भड्काउने र दिक्क लगाउने कुराको अविच्छिन्न स्रोत’ भएको र स्पेसएक्सलाई उक्त व्यवहारको आलोचना गर्न भनिएको इन्ग्याजेटले उल्लेख गरेको छ।
केही नाम नखुलाइएका कर्मचारी, स्पेसएक्सका सीओओ तथा अध्यक्ष ग्वायन शटवेलको ईमेल अनुसार स्पेसएक्सले चिठी प्रकरणमा संलग्न कर्मचारीलाई बर्खास्त गरेको तर कति जनालाई निकालिएको भन्ने चाहिँ यकिन नभएको समाचारमा जनाइएको छ।
‘स्पेसएक्सले चिठी प्रकरणमा संलग्न केही कर्मचारीलाई बर्खास्त गरेको छ’, उनले लेखेकी छिन्, ‘उक्त चिठी, फिरादपत्र तथा सामान्य प्रक्रियाले कर्मचारीलाई असहज र हेपिएको महसुस गराएको छ, जुन चिठीमा उनीहरुले हस्ताक्षर गरे त्यसमा उनीहरुको आफ्नो विचार समावेश थिएन। हामीलाई थुप्रै गम्भीर कामहरु पूरा गर्नुपर्ने भएकाले हामीलाई यस प्रकारको अतिवादी गतिविधि आवश्यक छैन।’
कर्मचारीबाट आएको उक्त खुला पत्रमा हालै मस्क संलग्न भनिएको २ लाख ५० हजार डलर जरिबाना तिरिएको यौन दुर्व्यवहारको आरोपलाई उल्लेख गरिएको थियो।
प्रकाशित: ४ असार २०७९, शनिबार