घुम्ति शिविर बारे सञ्चारमन्त्रीको गोकुल बाँस्कोटालाई जवाफ “उहाँको पालामा पनि संचालनमा थियो”

  • Technology Khabar | १ असार २०७९, बुधबार
घुम्ति शिविर बारे सञ्चारमन्त्रीको गोकुल बाँस्कोटालाई जवाफ “उहाँको पालामा पनि संचालनमा थियो”

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले दारु शिविर संचालन गर्न दिएको सुझाब र घुम्ति शिविर बारेको प्रश्नको जवाफ दिँदै उनको पालामा पनि त्यस्तै घुम्ति शिविर संचालन भएको बताएका छन्।

सञ्चारमन्त्री कार्कीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा राखिएको सो कार्यक्रमको बारेमा सांसद बाँस्कोटाले गरेको घुम्ति शिविर केका लागि भन्ने प्रश्नको उत्तर दिँदै उनले सो कार्यक्रम १२ वर्षदेखि संचालनमा रहेको बताए।

“प्रश्नकर्ता माननिय ज्यू स्वयं यस मन्त्रालयको मन्त्री रहँदा समेत यो कार्यक्रम संचालनमा रहेको व्यहोरा समेत संसदमा जानकारी गराउन चाहन्छु,” उनले भने।

यसअघि पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले संसदमा घुम्ति शिविरको बारेमा कटाक्ष गरेका थिए। उनले मन्त्रालयको बजेट कार्यक्रमको विषय उपर बोल्ने क्रममा घुम्ति शिविरको साटो दारु शिविर राख्न सुझाब दिएका थिए।

“सञ्चार मन्त्रालयको घुम्ती शिविर छ बरु दारु शिविर राखे हुन्छ। त्यसका निम्ति बजेट छुट्याईएको छ। के को निम्ति हो सभामूख महोदय, मैले केहि बुझ्न सकेको छैन्,” बाँस्कोटाले संसदमा भनेका थिए, “के आँखाको स्वास्थ्य शिविर वा कानको ?”

हेर्नूस् सम्बन्धित समाचार-

“सञ्चार मन्त्रालयले घुम्ती शिविरको साटो दारु शिविर राखे हुन्छ,” पूर्व सञ्चारमन्त्री बाँस्कोटा

सञ्चारमन्त्री कार्कीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै पहिलेदेखि नै चल्दै आएको घुम्ति शिविरलाई निरन्तता दिएको बताए।

यसअघिदेखि नै संचालनमा रहेको घुम्ति शिविर सूचना प्रशारण विभाग अन्तरगत प्रेस प्रतिनिधि प्रमाणपत्र जारी, नविकरण, अनलाइन सन्चार माध्यमको दर्ता लगायत दूर्गम जिल्लामा नेपाल पत्रकार महासंघको सहकार्यमा सेवा प्रवाह गर्न १२ वर्षदेखि संचालित रहेको उनले बताए।

यसका साथै मन्त्री कार्कीले नेटफ्लिक्सको माध्यमबाट चलचित्र क्षेत्रको ठूलो रकम विदेशिएकाले त्यसको नियमनको व्यवस्था गरिएको उल्लेख गरे। त्यसका लागि इजाजत लिन एक करोड रुपैयाँ तोकिएको जानकारीसमेत सदनलाई गराएका थिए।

त्यस्तै भूउपग्रह नीति २०७७ अनुसार नै त्यसको संस्थागत प्रारुप तयार गर्न ९९ लाख ९७ हजार विनियोजन भएको उनले प्रस्ट पारे।

व्यवसायिक तथा श्रमजीवी पत्रकारको विषयमा सरकार सदैव सचेत रहेको र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका लागि क्षमता अभिवृद्धि गर्न रकम विनियोजन गरिएको सञ्चारमन्त्री कार्कीले उल्लेख गरे। श्रमजीवी पत्रकारका लागि बनेको निःशुल्क उपचार कार्यविधि मस्यौदा तयार गरिएको र कार्यान्वयन गरिने प्रतिवद्धता मन्त्री कार्कीले व्यक्त गरे।

उनले पब्जी, फ्रिफायरलगायतका अनलाइन गेमहरुमार्फत रकम विदेशिएको बारेमा जानकार रहेको भन्दै त्यसमा छलफल गरिरहेको उल्लेख गरे।

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार