तीन वर्ष भित्र देशभरका सबै स्थानहरू दूरसञ्चारको सञ्जालमा जोडिसक्ने प्रतिबद्धता

  • Technology Khabar | २९ जेष्ठ २०७९, आईतवार
तीन वर्ष भित्र देशभरका सबै स्थानहरू दूरसञ्चारको सञ्जालमा जोडिसक्ने प्रतिबद्धता
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रुवाण्डामा आयोजित ‘वल्र्ड टेलिकम्युनिकेशन डेभलभमेन्ट कन्फ्रेन्स’ मा सहभागी भई शनिवार स्वदेश फर्किएका छन्।

नेपाल सरकारका प्रवक्ता कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको नियन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ र रुवाण्डा सरकारको संयुक्त आयोजनामा किगालीमा भएको सो सम्मेलनमा भाग लिन गत हप्ता त्यसतर्फ प्रस्थान गरेका थिए।

‘कनेक्टिङ द अनकनेटेड टु एचिभ सस्टेनेभल डेभलभमेन्ट’ मूल नारा रहेको सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सन् २०२५ सम्ममा देशमा डिजिटल नेपाल फ्रेमवर्कको अवधारणाअनुरुप विद्युतीय रुपान्तरणका लागि सम्पूर्ण कार्यसम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

उनले भौतिक कठिनाइको बाबजुद नेपाल सरकारले दूरदराजका सबै स्थानहरू दूरसञ्चारको सञ्जालमा जोडिसक्ने विषयवस्तु राखेको बताए।

सम्मेलनमा मन्त्री कार्कीले जापान, अमेरिका, चीन लिथुवानिया र अजरबैजानका समकक्षी तथा विशिष्ट सहभागीहरूसँग भेटघाट गरी दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा द्विपक्षीय हित र सहयोगका सम्बन्धमा छलफलसमेत भएको सञ्चार मन्त्रालयले जनाएको छ।

“अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको एसिया एण्ड प्यासिफिक सिजनका क्षेत्रीय निर्देशकसँगको छलफलमा क्षेत्रीय निर्देशकले नेपाललाई विपद् व्यवस्थापनमा अत्यावश्यक आकस्मिक समिति तथा ई–वेस्ट म्यानेजमेन्टलगायत विषयमा सहयोग उपलब्ध गराउने सम्बन्धमा सकारात्मक धारणा राख्नुभएको थियो”, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...