
काठमाडौं ।
सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा विश्व हिन्दू परिषद् नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ।
संघले सरकारले गरेको असंवैधानिक र अव्यावहारिक निर्णय भएको समेत उल्लेख गरेको छ।
“नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गरिनु नेपाली भाषामाथिको ठाडो प्रहार भएको भन्दै परिषदले विज्ञप्तिमा भनेको छ, “देवनागरीमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अङ्ग्रेजी इम्बोस्ड नम्बर प्लेट लादन खोजिनु भनेको नेपाल र नेपालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण हो। नेपाल सरकार यातायात विभागको निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेका राजनीति नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै चिन्ताजनक एवं गम्भीर विषय हो।”
निजी स्वार्थसिद्धिका लागि राष्ट्र विरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथि नै कुठाराघात गरिरहेको तथ्य नेपाली जनतालाई कदापी सह्य नहुने भन्दै जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरितको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा–देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्न परिषदले माग गरेको छ।
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार