
काठमाडौं ।
मनसुन सुरु भएलगतै बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई सधैँ चिन्ताले पिरोल्थ्यो। वर्षाको समय भएपछि नदी र खोलामा आउने बाढीले जनधनको ठूलो क्षति बेहोर्नु पर्दा मनसुन लाग्ने बित्तिकै यहाँका बासिन्दामा चिन्ता बढ्थ्यो ।
बाढी आउने नआउने पूर्व जानकारी नहुँदा वर्षात्मा रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो तर पछिल्लो दुई वर्ष यता बाढी आउने पूर्वसूचना प्राप्त हुन थालेपछि बाढीबाट हुने जनधनको क्षति जोगिएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठीको बेल्ही बजारका व्यापारीलाई हरेक वर्षको बाढीको समयमा धेरै नोक्सानी बेहोर्दै आएका थिए । जेठको अन्तिम सातादेखि भदौको अन्तिम सातासम्म बाढी र डुबानको त्रासबीच पसल सञ्चालन गर्नुपरेको बेल्ही चोकका किराना पसल गर्दै आएका बौवा यादवले बताए।
बेल्ही बजार होचो स्थानमा रहेकाले सामान्य बाढीमा समेत डुबान हुँदै आएको थियो । त्यसमाथि खाँडो खोलामा बाँध नहुँदा बाढीले सधैँ डुबान गर्ने हुँदा लाखौँको सामान नष्ट हुने गरेको अनुभव यादवले सुनाए ।
पछिल्लो दुई वर्षदेखि बाढीको समयमै जानकारी पाउने गरेकोले पसलका सामान सुरक्षित राख्ने गरिएको उनले बताए। युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले बाल केन्द्रित विपत् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत खाँडो खोलामा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली जडान भएपछि बेल्हीका व्यापारी तथा व्यवसायीलाई राहत भएको छ।
इसिमोड तथा सबल नेपालको प्राविधिक सहयोग, युनिसेफको आर्थिक सहयोगमा गाउँपालिकाले खाँडो खोलामा बाढी पूर्वसूचना प्रणाली जडान गरेपछि बाढी कति र कहिले आउने बारेमा समयमै जानकारी प्राप्त हुने गरेको छ।
जिल्लाको रूपनी गाउँपालिकास्थित खाँडो खोलाको पुलमा जडान गरिएको पूर्वसूचना प्रणालीले हरेक पाँच मिनेटमा बाढीको सतह (लेभेल) का बारेमा जानकारी दिने गरेको र रूपनीबाट तिलाठीसम्म बाढी पुग्न करिब अढाई घण्टा लाग्ने गरेको तिलाठी कोइलाडी गाउँपालिकाका विपत् व्यवस्थापन अधिकृत राजेशकुमार झा बताउँछन्।
माथिल्लो भेगबाट तल्लो तहसम्म पानी पुग्न अढाई घण्टा लाग्ने र सामान तथा मानिसलाई सुरक्षित स्थानमा राख्न पर्याप्त समय पाउनेभएकोले समयमै व्यवस्थापन गर्न सजिलो भएको अधिकृत झाको भनाइ छ ।
पूर्व–पश्चिम राजमार्गको रूपनी गाउँपालिकास्थित खाँडो खोलाको पुलमा पूर्वसूचना प्रणालीको उपकरण जडान गरिएको छ भने खोला किनारमा रहेको केयर टेकरको घरमा डाटा अपलोडिङ युनिट जडान गरिएको छ । खोलामा खतराको अवस्थासम्म बाढी आएमा केयर टेकरको घरमा रहेको डाटा अपलोडिङ युनिटमा साइरन बज्ने र केयर टेकरले सूचना संयन्त्र (कम्युनिकेसन च्यानल) मा रहेका सरोकारवालालाई खबर गर्ने प्रणालीको विकास गरिएको छ ।
बाढी पूर्वसूचना प्रणालीअन्तर्गत सञ्चार संयन्त्रको विकास गरिएको र उपकरणले बाढी आएको जनाउदिए लगत्तै संयन्त्रमा भएका व्यक्तिलाई खबर गरी सतर्क गराउने गरिएको छ। बाढीबाट प्रभावित हुने गरेका वडाका वडाध्यक्ष, सदस्य, सुरक्षा निकाय तथा स्थानीय व्यापारीसमेतलाई सूचना संयन्त्रमा राखी समयमै खबर गर्ने गरिएको छ ।
२०७६ सालको बाढीलाई सम्झँदै बेल्हीका अर्का किराना पसले रमेश यादवले त्यस वर्ष बाढीले धेरै नोक्सान गरेको बताउँछन् । त्यही वर्ष चैत्रदेखिको लकडाउनको कारण व्यवसाय खत्तम भएको भन्दै उनले भने, “पछिल्लो दुई वर्षदेखि बाढी आएको खबर समयमै पाउने गरेकोले पसलका सामान उँचो स्थानमा राख्न पर्याप्त समय पाएकोले सामान नोक्सान हुनबाट जोगिएको छ ।”
“बिहारको सितामढीमा पूर्वसूचना प्रणालीसम्बन्धी अध्ययन अवलोकन भ्रमणमा गएको बेला त्यहाँ अत्यधिक प्रभावकारी भएको देखेर हामीले पनि जडान गरेका हौँ”, गाउँपालिकाका निवर्तमान अध्यक्ष सतिशकुमार सिंहले भने ।
खाँडो खोलाको बाढीबाट सबैभन्दा बढी लौनियाँ, तिलाठी र सकरपुरा प्रभावित हुने गरेको छ । खाँडो खोलामा जडान गरिएको पूर्वसूचना प्रणालीबाट करिब दुई हजार पाँच सय घरधुरीका १३ हजार पाँच सय व्यक्ति लाभान्वित भइरहेको गाउँपालिकाका विपत् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए। गोरखापत्रबाट
प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार