दश करोड रुपैयाँ माथिको कारोबार गर्ने कम्पनीलाई विद्युतीय बीजक अनिवार्य

  • Technology Khabar | २४ जेष्ठ २०७९, मंगलवार
दश करोड रुपैयाँ माथिको कारोबार गर्ने कम्पनीलाई विद्युतीय बीजक अनिवार्य

काठमाडौं ।

आन्तरिक राजस्व विभागले आयकरको सीमा, त्यसमा लाग्ने करको दर तथा विद्युतीय बीजकसम्बन्धि नयाँ नियम सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयकरको सीमा हेरफेर तथा नयाँ नियमहरु लागू गरिएको जानकारी दिएका थिए।

सोहीअनुसार विभागले विद्युतीय बीजक जारी गर्ने बारेमा नयाँ नियम सार्वजनिक गरेको हो।

विभागले १० करोड रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने कम्पनीलाई विद्युतीय बिजक नै जारी गर्न निर्देशित गरेको छ।

आर्थिक ऐन २०७९ ले मूल्य अभिवृद्धि कर ऐन र आयकर ऐन परिमार्जन गरेसँगै सो व्यवस्था लागू हुने भएको हो।

विभागले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि विद्युतीय माध्यम (ईविलिङ्ग तथा कम्प्यूटर विलिङ्ग)बाट बीजक व्यवस्था अनिवार्य रुपमा लागू गर्न भनेको छ।

आर्थिक ऐनले भ्याट ऐन २०५२ को दफा १४ क को उपदफा २ तथा आयकर ऐन २०५८ को दफा ८१ को उपदफा ४ संशोधन गरेको छ।

सो संशोधनअनुसार अब आर्थिक वर्ष २०७७/७८ वा २०७८/७९ को भ्याट तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरुले यो नियम पालना गर्नुपर्नेछ।

त्यस्तै बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलहरु (काठमाडौं उपत्यका बाहिरका समेत) लाई पनि लागू हुने छ।

तर यो नियम बैंक तथा वित्तीय संस्थालाई भने लागू हुने छैन।

यसैगरी सोभन्दा कम कारोबार गर्ने कम्पनीले पनि स्वेच्छिकरुपमा विद्युतीय बीजक जारी गर्न पाउनेछ।

विभागकाअनुसार यसअघि निर्देशित भएका व्यवसायहरुले पनि अनिवार्य विद्युतीय बीजक जारी गर्ने प्रावधान निरन्तर रहेको छ।

विद्युतीय बीजकसम्बन्धी आधिकारिक सफ्टवेयर विभागले वेवसाइटमा राखेको छ।

हेर्नुस् सूचना-

640869805

प्रकाशित: २४ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...