भारतमा स्वचालित ड्राइभिङ टेस्ट ट्र्याकमा राति पनि लाइसेन्स परीक्षा दिन सकिने

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
भारतमा स्वचालित ड्राइभिङ टेस्ट ट्र्याकमा राति पनि लाइसेन्स परीक्षा दिन सकिने

काठमाडौं ।

नेपालीहरुलाई देशभित्र स्मार्ट लाइसेन्स लिन महिनौं कुर्नुपर्ने र ड्राइभिङ परिक्षाका लागि घण्टौं पालोमा बस्नुपर्ने बाध्यता छ। तर छिमेकी देश भारतमा भने स्वचालित ड्राइभिङ टेस्ट ट्र्याक रातीको समयमा पनि परीक्षा दिन सकिनेगरी शुरु गरिएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा स्थायी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन चाहनेले अब दिउँसोको सट्टा साँझमा ड्राइभिङ परीक्षा दिन सक्नेछन् । ड्राइभिङ परिक्षा दिनु पर्ने तर ड्युटी वा अन्य कुनै कारणले दिनको समयमा परीक्षा दिन नसक्नेहरुलाई यो खबरले राहतदिने बताईएको छ।

दिल्ली यातायात निगमले रातको सिफ्टमा पनि स्वचालित ड्राइभिङ टेस्ट ट्र्याक शुरु गरेको छ र यसका लागि दिल्ली सरकारले भर्खर ३ वटा अटोमेटिक ड्राइभिङ टेस्ट ट्र्याक सुरु गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

दिल्लीका यातायात मन्त्री कैलाश गहलोतले गत बुधवार शकुरबस्ती, मयुर विहार र विश्वास नगरमा रात्रि परीक्षणका लागि स्थापित स्वचालित ड्राइभिङ टेस्ट ट्र्याकको अनावरण गरे। यससँगै अब स्थायी सवारी चालक अनुमतिपत्रको परीक्षा दिनु पर्ने तर कार्यालय वा अन्य कामका कारण दिनमा परीक्षा दिन समय निकाल्न नपाउने श्रमजीवीलाई राहत हुने बताईएको छ।

भारतीय समयअनुसार बेलुका ५ बजेदेखि ८ बजेसम्म अटोमेटिक ड्राइभिङ टेस्ट ट्र्याकमा ड्राइभिङ टेस्टहरू सञ्चालन हुनेछन्। प्रत्येक ट्र्याकमा दैनिक ४५ एपोइन्टमेन्ट बुक गरिनेछ। हाल यी तीन ओटा अटोमेटिक ड्राइभिङ टेस्ट ट्र्याकमा दैनिक १ सय ३५ वटा ड्राइभिङ टेस्ट भइरहेका छन् ।

मे १ देखि रातीको समयमा यी स्वचालित ड्राइभिङ टेस्ट ट्र्याकहरूमा २,५०० भन्दा बढी ड्राइभिङ लाइसेन्स परीक्षणहरू सञ्चालन भइसकेका छन्। नाइट सिफ्ट परीक्षणको अनुगमन गर्न लाइट, क्यामराको रिजोल्युसनलगायत क्षेत्रमा आवश्यक सुधार भइरहेको भारतीय यातायात मन्त्रीले बताए । उनले नाइट टेस्टको सुविधा पनि डे टेस्ट जस्तै राम्रो हुने बताए ।

हाल टेन्डरिङ चरणमा रहेका संस्थानहरूमा ८ नयाँ एडीटीटीहरू थपिएका छन्। दिल्ली यातायात विभागले मारुती सुजुकी फाउन्डेशनलाई १२ ओटा स्वचालित ड्राइभिङ टेस्ट ट्र्याकहरू स्थापना गर्ने जिम्मेवारी दिएको छ र यी केन्द्रहरूको मर्मत सम्भारको जिम्मेवारी रोजमेर्टा टेक्नोलोजी लिमिटेडको छ। परीक्षणलाई नजिकबाट जाँच गर्न १७ उच्च रिजोल्युसनयुक्त क्यामराहरू जडान गरिएको छ। ड्राइभिङ परीक्षणको क्रममा मोटर भेहिकल एक्ट ९९ अन्तर्गत समेटिएका २० आवश्यक ड्राइभिङ सीपहरूको परीक्षण गरिनेछ।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार