
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२२ शृंखलाका स्मार्टफोनहरू सामसङ ग्यालेक्सी एस२२ प्लस र सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा अब भ्वाइस ओभर ५जी (भीओ५जी/Vo5G) लाई समर्थन गर्ने संसारको पहिलो स्मार्टफोन बनेको छ।
कुवेतमा आधारित मोबाइल टेलिकम कम्पनी जेनले भर्खरै पहिलो भ्वाइस ओभर ५जी सेवा सुरु गर्ने घोषणा गरेको छ र हाल सामसंग ग्यालेक्सी एस२२ श्रृंखलाका स्मार्टफोनहरूलाई मात्र समर्थन गर्दछ।
फाइभजी इन्टरनेट सेवा नयाँ र सामान्य रुपमा सुरु भएपनि फाइभजी भ्वाइस कल भने निकै कम छ। वास्तवमा, जेन वैश्विकस्तरमा कुवेतमा राष्ट्रव्यापी कभरेजको साथ भीओ५जी सेवा सुरु गर्ने पहिलो टेलिकम कम्पनी हो। यद्यपि, यो सेवा नयाँ सामसङ ग्यालेक्सी एस२२ स्मार्टफोन भएका ग्राहकहरूका लागि मात्र उपलब्ध छ। यो चाँडै अन्य ५जी स्मार्टफोनहरूमा पनि पुग्ने सम्भावना छ।
फाइभजी भ्वाइस सेवाले राम्रो भ्वाइस र भिडियो कलिङ गुणस्तर, नयाँ भ्वाइस र सञ्चार सेवाहरू साथै एकैसाथ भ्वाइस कलहरू र फाइभजी डाटा सेवा सहित धेरै फाइदाहरू प्रदान गर्दछ। बृहत् स्तरमा यो सेवा उपलब्ध गराउने नेटवर्कको क्षमता र प्रविधिको पूर्ण परीक्षणपछि देशभर यो सेवाको व्यावसायिक सुरुवात गरिएको जेनले बताएको छ।
यसैबीच नेपालमा पनि ५जी नेटवर्क परीक्षणको तयारी भइरहेको छ, त्यसपछि यो नेटवर्क व्यावसायिक रूपमा आउने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार