कार बिक्रीको अनुमति नपाएसम्म टेस्लाले भारतमा प्लान्ट नलगाउने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
कार बिक्रीको अनुमति नपाएसम्म टेस्लाले भारतमा प्लान्ट नलगाउने

काठमाडौं ।

टेस्लाले आफ्नो इलेक्ट्रिक कारले बिक्रीको अनुमति नपाएसम्म भारतमा प्लान्ट नलगाउने भएको छ।

टेस्लाका सीईओ एलन मस्कले आफ्नो इलेक्ट्रिक कारले बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन प्लान्ट नराख्ने बताएका छन्।

ट्विटर प्रयोगकर्ता मधु सुधन भीले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले आफ्नो इलेक्ट्रिक कारले कुनै पनि स्थानमा बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन लान्ट नराख्ने बताएका हुन्।

मधुसुधनले ट्विटरमा टेस्लाको बारेमा के हो? के टेस्लाले भविष्यमा भारतमा प्लान्ट निर्माण गर्दैछ? भनेर प्रश्न सोधेको थिए। त्यसको जवाफ दिँदै मस्कले सो धारणा राखेका हुन्।

टेस्ला आफ्नो इलेक्ट्रिक कार भारतमा बिक्री शुरु गर्नका लागि भारत सरकारको अनुमति पर्खेर बसेको लाइभमिन्टले लेखेको छ। हालसम्म टेस्ला भारतमा बिक्रीका लागि अनुमति प्राप्त गरेको छैन।

रिपोर्टका अनुसार चीनको शांघाइमा गिगाफ्याक्ट्री शुरु गरेसँगै अहिले टेस्ला इन्डोनेसियामा आफ्नो दोस्रो गिगाफ्याक्ट्री निर्माण गर्ने योजनामा छ।

पछिल्लो केही वर्षदेखि टेस्ला भारतमा आफ्नो कारको आयातमा लाग्ने उच्च कर कटौती गर्न भारत सरकारसँग वार्ता गरिरहेको छ। उच्च करका कारण टेस्लाको कार भारतीय बजारमा अन्य मुलुकको तुलनामा अधिक महँगो छ।

भारत सरकारले टेस्लाको माग प्रति असहमति जनाउँदै कुनै एक कम्पनीका लागि कर नीति हेरफेर हुन नसक्ने बताइसकेको छ।

भारतमा टेस्लाको इलेक्ट्रिक कार प्लान्ट निर्माण गर्न विभिन्न चरणमा भारत सरकार र टेस्लाबीच वार्ता पनि भइसकेको छ। तर अहिलेसम्म टेस्लाले भारतमा लगानी गर्ने वातावरण तय भइसकेको छैन।

गत वर्ष बेंग्लोरमा टेस्लाको कार्यालय सञ्चालनमा ल्याएसँगै भारतमा उत्पादन प्लान्ट शुरु गर्ने चर्चा चलेको थियो। भारतका यातायात मन्त्री नितिन गडकरीले सन् २०२१ मा टेस्लाले आफ्नो इलेक्ट्रिक कार भारतमा उत्पादन शुरु गर्ने बताएका थिए।

तर टेस्लाले भने चीनमा निर्मित कार भारतमा आयात गर्ने बताएको थियो। चीनमा उत्पादित कारलाई भारतमा बिक्रीका लागि अनुमति प्राप्त भएको छैन।

मस्क भने भारतीय उपभोक्ताले टेस्लाको उत्पादन कतिको रुचाउँछन् भन्ने आधारमा मात्र प्लान्ट खोल्ने योजनामा देखिएका छन्। त्यसका लागि मस्क पहिलो आफ्नो इलेक्ट्रिक कार भारतीय बजारमा बिक्री गर्न चाहन्छन्।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार