
काठमाडौं ।
छिमेकी देश भारतमा सरकारले नै कलर आईडी एप बनाउने भएको छ। यसले अज्ञात नम्बरबाट आउने कलको जानकारी मोबाइल प्रयोगकर्तालाई दिनेछ।
भारतीय टेलिकम नियामक ट्राईले यस्तै संयन्त्रमा काम गरिरहेको छ, जसको माध्यमबाट कसैको फोनमा कल गर्ने व्यक्तिको नाम उसको सिममा गरिएको केवाईसीको नामबाट थाहा हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
हाल, यदि कसैले तपाईंलाई कल गर्छ भने, केवल उसको नम्बर स्क्रिनमा देखिन्छ, तर ट्राईको यो फ्रेमवर्कलाई अन्तिम रूप दिएपछि, तपाईंले फोनमा प्रयोगकर्ताको केवाईसी नाम पनि देख्नसकिने बताईएको छ। यो मेकानिजम पछि, जब कसैले तपाईंलाई फोनमा कल गर्छ, उसको नाम स्क्रिनमा फ्ल्यास हुने बताईएको छ।
यो सुविधा हालको कलर आईडी एप ट्रुकलरको जस्तै काम गर्ने रिपोर्टमा उल्लेख छ। टेलिकम विभागले ट्राईलाई यसका लागि काम सुरु गर्न पनि भनेको छ। ट्राईका अध्यक्ष पीडी वाघेलाले आगामी केही महिनामा यस विषयमा परामर्श सुरु हुने बताएका छन्।
उनले भने, ‘हामीले यसबारे अहिले नै रेफरेन्स पाएका छौँ र छिट्टै काम थाल्छौँ । ट्राईले पहिले नै यस्तो संयन्त्रलाई विचार गरिरहेको थियो, तर विभागको सन्दर्भको कारण, यसमा काम चाँडै सुरु हुनेछ।
ट्राईका अध्यक्ष वाघेलाले यो फिचर आएपछि प्रयोगकर्ताले फेक कलबाट बच्न सक्ने बताए। रिपोर्टका अनुसार फ्रेमवर्क पूरा भएपछि यस फिचरको बारेमा थप कुराहरू स्पष्ट हुनेछन्।
पछिल्लो समय भारतमा स्पाम कलहरुका साथै स्क्यामको घट्नाहरुमा वृद्धि भएसँगै नयाँ एप बनाउन लागिएको बताईएको छ। यो सुविधा आउनुले स्पाम र ठगी कलहरूको बढ्दो केसहरू कम गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार