
काठमाडौं ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले हालै टेस्लाका सीईओ इलन मस्कलाई भेटेका छन्।
उनले मस्कसँग गत शनिबार देशको प्रविधि क्षेत्रमा सम्भाव्य लगानीका बारे छलफल गरेको इन्डोनेसिया सरकारले एक विज्ञप्तिमा भनेको छ।
मस्क र विडोडोबिचको भेट इन्डोनेसियाको निकल उद्योग तथा विद्युतीय सवारीका लागि ब्याट्री आपूर्ति गर्नेबारे कार्यदल स्तरीय छलफलपछि भएको रोयटर्सले उल्लेख गरेको छ।
टेस्लाका प्रतिनिधिहरु गत हप्ता ब्याट्री सम्बद्ध सम्भाव्यता छलफलका लागि इन्डोनेसियामा रहेका इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन्। यसमा टेस्लाले भने कुनै प्रतिक्रिया जनाएको छैन।
इन्डोनेसियाले वर्षौंदेखि ब्याट्रीका क्षेत्रमा लगानीका लागि टेस्ला तथा स्पेसएक्ससँग सम्झौता गर्न खोजिरहेको छ।
जोकोवी आशियान राष्ट्रहरुको बैठकमा भाग लिन गत नोभेम्बरमा अमेरिकामा गएका बेला मस्कलाई भेट्न उनको प्रक्षेपण साइट बोका चिकामा गएर भेट्दै इन्डोनेसिया भ्रमणको निम्तो दिएका थिए।
प्रकाशित: २ जेष्ठ २०७९, सोमबार