
काठमाडौं ।
दाङका मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन यसपटक सीसी क्यामरा जडान गरिएका छन् ।
जिल्लाका १० वटै पालिकामा सीसी क्यामराको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार मतगणना स्थलमा सीसी क्यामरा जडानसँगै सुरक्षाका लागि तारबारको व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, “निर्वाचनको तयारी पूरा भएको छ । मतदान स्थल निर्माणदेखि मतगणना स्थल निर्माणका काम तयारी अवस्थामा छन्।”
मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन तारबार र सीसी क्यामराको व्यवस्था गरिएको प्रजिअ रेग्मीले बताए।
पालिकामा आवश्यकताअनुसार पाँचदेखि १० ओटासम्म सीसी क्यामरा जडान गरिएका छन् । उम्मेदवारका मतगणना प्रतिनिधि यस पटक मतगणना स्थलमा जान पाउने छैनन् । तार जालीभन्दा बाहिरपट्टि उम्मेदवारका मतगणना प्रतिनिधि बस्नेछन् । गोरखापत्रबाट
प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार