
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले रोयल नेटवर्क प्रालि बुटवलको अनुमतिपत्र खारेज गरेको छ।
बुटवल उप महानगरपालिका ०८ रुपन्देहीमा कार्यालय रहेको उक्त कम्पनीले प्राधिकरणबाट इन्टरनेट, इमेलसहितको सेवा प्रदान गर्ने लाइसेन्स लिएकामा नियमअनुसार नवीकरणका लागि आवेदन नदिएकाले अनुमति पत्र अर्थात् लाइसेन्स खारेज गरेको प्राधिकरणले सूचना जारी गरेर जानकारी दिएको हो।
अनुमतिपत्र फि.ज. १-१०६ रहेको उक्त कम्पनीमाथि दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम स्वत: खारेज भएको ब्यहोरा प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।
सूचनामा अनुमतिपत्र खारेजीका साथै उक्त कम्पनीले इन्टरनेट सेवा सञ्चालन गरे बापत् नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको दस्तुर र वित्तीय विवरण पनि पनि अविलम्ब बुझाउन आग्रह गरिएको छ।
यसो नगरेको खण्डमा बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने पनि प्राधिकरणले उल्लेख गरेको छ।
प्रकाशित: २७ बैशाख २०७९, मंगलवार