
काठमाडौं ।
रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट बाहिरिने निर्णय गरेको छ। देशको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुखले एक मिडिया अन्तर्वार्तामा यो खुलासा गरेका छन्।
रुस कहिले आईएसएसबाट अलग हुनेछ भन्ने बारे कुनै सही टाइमलाइन खुलासा गरिएको छैन। तर, रुसले रुसी अर्बिटल सेगमेन्ट (आरओएस) लाई कायम राख्न केही समयका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहने बताइएको छ। रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले रुसको सरकारी समाचार एजेन्सी टाससँगको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट बाहिरिने निर्णय भइसकेको बताए।
उनले अन्तर्वार्तामा यसबारे सार्वजनिक रूपमा बोल्न बाध्य नभएको समेत उल्लेख गरेका छन्। “म यति मात्र भन्न सक्छु कि हामी हाम्रा साझेदारहरूलाई आईएसएसमा हाम्रो कामको अन्त्यको बारेमा एक वर्ष पहिले चेतावनी दिनेछौं,” उनले भने।
उनले आईएसएस कार्यक्रम छोड्ने निर्णयको पछाडी रूसले अब आफ्नो अर्बिटल सर्भिस स्टेशन तैनाथ गर्न चाहेको संकेत गरे।
स्मरणरहोस् सन् १९९८ मा रुस यस मिसनसँग जोडिएको थियो ।
रुसले सन् २०१५ मा सन् २०२४ सम्म आइएसएसको हिस्सा बन्ने घोषणा गरेको थियो। त्यसपछि रुसले सन् २०२४ पछि रुसी मोड्युललाई आईएसएसबाट अलग गर्ने र पृथ्वीको तल्लो कक्षमा आफ्नै अन्तरिक्ष स्टेशन बनाउने बताएको थियो।
आईएसएस कार्यक्रमले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष अन्वेषणमा मद्दत गर्छ। यो एक क्षेत्र हो जहाँ अमेरिका र रुसले आफ्नो कमजोर सम्बन्धको बाबजुद एक आपसमा सहयोग गरेका छन्।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मार्चमा युक्रेन र रुसबीचको युद्धले आईएसएस कार्यक्रमलाई असर नगर्ने बताएको थियो। यस युद्धको बीचमा, तीन रूसी अन्तरिक्ष यात्री ओलेग आर्टेमेयेभ, डेनिस माटवेयेभ र सर्गेई कोर्साकोभ आईएसएसमा गए।
यद्यपि, गत महिना मात्र रोगोजिनले आईएसएस कार्यक्रममा रुसको योगदान अन्त्य गर्ने धम्की दिएका थिए।
रूस र अमेरिका बाहेक आईएसएस कार्यक्रममा युरोप र क्यानडा पनि सामेल छन्।
प्रकाशित: २२ बैशाख २०७९, बिहीबार