अब क्रिप्टोकरेन्सीमा भुक्तानी गरेर यूएईमा घरजग्गा किन्न सकिने

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
अब क्रिप्टोकरेन्सीमा भुक्तानी गरेर यूएईमा घरजग्गा किन्न सकिने

काठमाडौं ।

क्रिप्टो संस्कृति मध्यपूर्वको देश संयुक्त अरब इमिरेट्स (यूएई) को भागहरूमा बिस्तार भइरहेको देखिन्छ। अब दुबईस्थित घर जग्गा विकासकर्ता डमाक प्रोपर्टीजले क्रिप्टोकरेन्सीको रूपमा भुक्तानी स्वीकार गर्ने निर्णय गरेको छ। यसमा बिटक्वाइन र ईथर भुक्तानी मोडको रूपमा स्वीकार गरिन्छ।

यसको अर्थ अब युएईमा क्रिप्टोकरेन्सी भुक्तानीमार्फत पनि सम्पत्तिहरु किन्न सकिने भएको छ। कम्पनीले ग्राहकहरूलाई थप भुक्तानी विकल्पहरू थप्ने र रियल स्टेटको भविष्यमा क्रान्तिकारी परिवर्तनहरूको अग्रभागमा रहने लक्ष्य राखेको छ।

डमाक प्रोपर्टीजका अपरेसन जीएम अली सजवानीले भने, “क्रिप्टोकरेन्सी भएका ग्राहकहरूतर्फको यो कदम नयाँ पुस्ता र हाम्रो उद्योगको भविष्यका लागि नयाँ अर्थतन्त्रलाई गति दिने पहल हो।”

कम्पनीले ट्विटरमा पनि यो घोषणा गरेको छ। सजवानीले अन्य विश्वव्यापी व्यवसायहरूलाई पनि उनीहरूको सेवाहरूमा क्रिप्टो लेनदेन मोड समावेश गर्न अनुरोध गरेका छन्।

उनले भने, ‘हामीजस्ता विश्वव्यापी व्यवसायले परिवर्तनसँगै अगाडि बढ्नु आवश्यक छ। ग्राहकहरूलाई अर्को कारोबार मोड प्रस्ताव गर्नु रोमाञ्चक हो।”

क्रिप्टोकरेन्सीको बढ्दो लोकप्रियताको बीचमा दुबई यस क्षेत्रमा आफूलाई अगाडि राख्न चाहन्छ। यसले विश्वव्यापी क्रिप्टो हब बन्नको लागि आफ्नो गतिलाई तीव्र पारेको छ।

गएको मार्चमा, संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले क्रिप्टो स्पेस क्षेत्रको लागि स्वतन्त्र निकाय स्थापना गर्ने नयाँ कानूनमा हस्ताक्षर गरेका थिए।

स्मरणरहोस्, नेपालमा क्रिप्टो कारोबार गैर कानूनी रहेको छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...